चितवन, साउन २१ । चितवन राष्ट्रिय निकुञ्जमा बसोबास गर्ने सुकुम्बासीहरुलाई वर्षतको समयमा हटाएसंगै अहिले विभिन्न बहसहरु सुरु भएको छ।
यसै घटनालाई लिएर विभिन्न सञ्चारमाध्यमहरुमा समाचार प्रशारण र प्रकाशितहरु भईरहेकाछन्। तिनै समाचारको विषयलाई लिएर माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले सार्वजनिक कार्यक्रममा पत्रकारहरुलाई कालोमोसो दल्ने सहितको अभिव्यक्ति प्रति नेपाल प्रेस युनियन चितवनले एक प्रेस विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण जनाएको छ।
माडी क्षेत्रमा ढकालकै नेतृत्वमा काटिएका सालका रुखका विषयमा आएको समाचारका विषयमा खण्डन गर्दै समाचार लेख्ने पित पत्रकारिताको संज्ञा दिएर जनतालाई कालोमोसो दल्न उत्प्रेरित गरिएको अभिव्यक्ति आम पत्रकारमाथीको प्रहार भएको युनियनले ठहर गरेको छ। उक्त भनाईलाई अबिलम्ब फिर्ता लिई आगामी दिनमा यस्ता गैर जिम्मेबार अभिव्यिक्ति नलिन युनियनले विज्ञप्ति मार्फत आग्रह गरेको छ।
साथै जनप्रतिनिधिका धम्किबाट बिचलित नभई सत्यतथ्य समाचार सम्प्रेषणमा जुट्न नेपाल प्रेस युनियन जिल्ला शाखा चितवनका अध्यक्ष अनिल ढकालले आग्रह गरेका छन्। यस्तै युनियन प्रेसको संबैधानिक अधिकारको सम्मान गर्न, पत्रकारलाई स्वतन्त्र र निर्वाध काम गर्न वातावरण बनाउन तथा यस्ता घटना नदोहोर्याउन युनियनले सम्बन्धित निकायसंग माग गरेको छ। पछिल्लो समय निकुञ्ज र मध्यवर्तीका जनता बिच द्धन्द्ध चर्किरहेको छ।


























