साउन २० । इंग्लिस प्रिमियर लिगमा बढुवाका लागि आज (मंगलबार) च्याम्पियनसिपको प्ले अफ खेल हुँदैछ।
प्ले अफमा दुई लण्डन क्लब फुलहम र ब्रेन्टफोर्ड भिड्ने छन्। खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ।
वेम्बलीमा दुवै टिम जित निकाल्दै प्रिमियर लिगमा बढुवा हुने लक्ष्यमा हुनेछन्।
तर, यस खेल त्यतिमा मात्र सिमित छैन। यस खेललाई फुटबलकै सबैभन्दा महँगो खेलको रुपमा लिइएको छ।
किनकी यस खेल जित्ने टोलीले बढुवासँगै २० करोड अमेरिकी डलर बढी भित्र्याउने छ।
यस खेल जित्नेले प्रिमियर लिगमा टेलिभिजन प्रसारण र प्रायोजनबाट २० करोड डलरभन्दा बढी पाउनेछ। तर, पराजित हुने टिमको हातमा सुन्य हुनेछ। पराजित हुने टिम फेरि दोस्रो डिभिजनमै खेल्नु पर्नेछ।
गत सिजन रेलिगेसनमा परेको फुलहमले च्याम्पियनसिपको चौथोमा रहदै प्ले अफ खेल्न पाएको हो। त्यसैले ब्रेन्टफोर्डलाई हराएर पुनस् प्रिमियर लिग खेल्न चाहन्छ।
यता, लामो समय दोस्रो डिभिजनमा रहेको ब्रेन्टफोर्ड तेस्रो भएको थियो। ब्रेन्टफोर्ड पछिल्लो ७३ वर्षपछि पहिलो पटक शीर्ष डिभिजन खेल्न चाहन्छ।
यस सिजन लिड्स र वेस्ट ब्रुम भने शीर्ष दुईमा रहेर प्रिमियर लिगमा बढुवा भईसकेको छ। एजेन्सी


























