चितवन, साउन १९ । हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात ऋषितर्पणी आज नयाँ जनै धारण गर्नुका साथै रक्षा–बन्धन गरी धुमधामसँग मनाइँदैछ।
तागाधारीहरूले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन्। हिन्दू धर्मशास्त्रअनुसार जनैलाई ब्रम्हासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रम्हा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ। आज जनै तथा राखी बाध्नाले देव ऋण, ऋषी ऋण र पितृ ऋणबाट मुक्त भइने तथा जनैले मानिसमा बल, बुद्धि र तेज प्रदान गर्छ भन्ने विश्वास रहिआएको छ।
आजका दिन नाडीमा मन्त्रिएको डोरी बाँधेर रक्षाबन्धन पनि गरिन्छ। यस दिन विशेष गरी तागाधारीहरुबाट सप्तऋषि गौतम, भरद्वाज, विश्वामित्र, जमदग्नि, बशिष्ठ, कश्यप र अत्रिलाई तर्पण दिने भएकाले यस पर्वलाई ‘ऋषि तर्पणी’ समेत भन्ने गरिन्छ।

तराई क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइका नाडिमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक ‘राखी’ बाँधिदिने चलन छ। आजै विभिन्न नौ प्रकारका गुडागुडी मिसाएर पकाइएको क्वाँटी खाने गरिन्छ। क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षातका कारण चिसो भएको शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ। नेवारी समुदायले भने आजका दिन ‘गुन्हु पुन्ही’ मनाउने प्रचलन छ।


























