चितवन, साउन १६ । चितवनका प्रहरीलाई साइबर अपराध तथा सुरक्षा सम्बन्धी एकदिने अभिमूखिकरण तालिम प्रदान गरिएको छ।
भरतपुर महानगरपालिका २ क्षेत्रपुरमा रहेको फोर्ब्स कलेजले जिल्लाका ५० जना प्रहरीलाई तालिम प्रदान गरेको हो। विश्वभर चुनौतीको रुपमा रहेको साइबर अपराध न्यूनिकरणका लागि तालिम महत्वपूर्ण हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) नान्तिराज गुरुङले बताए। उनले समाजमा अपराधको श्रृङखला बढ्दो क्रममा रहेको भन्दै सामाजिक संजाल मार्फत हुने अपराध र ठगी बढेको जानकारी दिए।
सुरक्षित डिजिटल समाज निर्माणका लागि कलेजले निरन्तर साइबर अपराध तथा सुरक्षा सम्बन्धी तालिम प्रदान गरिरहेको कलेजका प्राचार्य हरिशरण पाठकले बताए। उनले जिल्लाका विभिन्न स्थानिय तह र शैक्षिक संस्थाहरुमा पनि तालिम संचालन गरिएको जानकारी दिए। कलेजले काठमाडौं बाहिर पहिलोपटक साइबर अपराध तथा सुरक्षा सम्बन्धी अध्यापन शुरु गरेको हो।

कार्यक्रममा कलेजका साहयक प्राचार्य दिवश मैनाली, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक सुर्य थापा, रविन कार्की, कलेज अभिभावक संघका अध्यक्ष रामचन्द्र सापकोटा लगाएतको उपस्थिति रहेको थियो।


























