चितवन, साउन १६ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल बिहीबारबाट खुलेसँगै चहलपहल शुरु भएको छ। होटलमा पर्यटक आउन शुरु गरेका छन् भने रेष्टुरेण्टमा ग्राहक देखिन थालेका छन्।
जङ्गल वाइल्डलाइफ क्याम्पका सञ्चालक नारायण भट्टरार्ईले होटल खुलेकै दिन दुई विदेशी पर्यटक आएको बताए। होटलको सरसफाइ, मर्मत सम्भारसँगै उच्च सावधानीका साथ पाहुनाको स्वागतमा व्यवसायी जुटेको क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष रहनुभएका भट्टरार्ईले जानकारी दिए।
जङ्गल सफारी लजमा पनि आज तीन वटा कोठा बुकिङ भएको सञ्चालक सुमन घिमिरेले बताए। सङ्घका निवर्तमान अध्यक्ष घिमिरेले होटल खुलेसँगै बिहीबारबाट चहलपहल बढेको बताए। स्थानीय र आसपासका क्षेत्रबाट चार महिनापछि खुलेको सौराहा हेर्न मानिस आएको उनले जानकारी दिए। सौराहामा ११० होटल सञ्चालनमा छन्।
घिमिरेले भने, “यो सिजन नभए पनि लामो समयपछि होटल खुल्दा व्यवसायी आशावादी भएका छन्।” होटललाई पूर्ववत् अवस्थामा फर्काउन सस्तो र आकर्षक प्याकेज बनाउन साझारूपमा र एकल व्यवसायी जुटिरहेको उनले जानकारी दिए। सङ्घका अध्यक्ष दीपक भट्टरार्ईले स्थानीय कर्मचारीलाई बोलाएर होटल सञ्चालन गरिएको बताए। पच्चीस प्रतिशत हाराहारी कर्मचारीले होटल शुरु गरेको उनले जानकारी दिए।
क्रमशः पर्यटक बढ्दै गएपछि कर्मचारी थप गर्दै लैजाने तयारी गरिएको छ। सौराहामा होटलमा प्रत्यक्षरूपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन्। लकडाउनसँगै अधिकांश कामदारलाई होटलले छुट्टी दिएका थिए। होटल तथा रेष्टुरेण्ट खुलेसँगै व्यवसायीले आफ्ना कामदारलाई बोलाएर नियमित काममा लगाउन थालेका हुन्। सरकारले यही साउन १५ गतेदेखि देशभरका होटल तथा रेष्टुरेण्ट विशेष सावधानी अपनाएर खोल्ने निर्णय गरेसँगै सौराहाका होटल खुलेका हुन्। होटलले कोभिड–१९ बाट बच्न आवश्यक सूचना टाँस गर्ने, पर्यटकको ज्वरो जाँच, हात धुने र स्यानिटाइजरको व्यवस्था गरेको भट्टराईले जानकारी दिए।
दशैँ र दशैँपछि हुने पर्यटकीय गतिविधिलाई लक्षित गरी अहिलेबाट तयारी थालिएको छ। हवाई र सडक यातायातमा लागेको प्रतिबन्ध तथा एक जिल्लाबाट अर्को जिल्ला जान पास चाहिने विद्यमान अवस्थाका कारण तत्कालै पर्यटक बढ्ने आशा व्यवसायीले गरेका छैनन्। गत वर्ष पनि यो पर्यटकीय मौसम नभएकाले न्यून पर्यटक मात्र आउने गर्दथे। उनका अनुसार विगतका वर्षमा यति बेला ३० प्रतिशत हाराहारी मात्र पर्यटक हुने गर्दथे।
होटलसँगै रेष्टुरेण्ट पनि खुलेका छन्। रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) का पूर्वअध्यक्ष गोकर्ण गिरीका अनुसार रेष्टुरेण्टमा ग्राहकहरु आउन थालेका छन्। सौराहामा १०० हाराहारी रेष्टुरेण्ट छन्। तीमध्ये ५६ वटा रेवानका सदस्य छन्। आधाभन्दा बढी रेष्टुरेण्ट खुलेको उनले जानकारी दिए। थोरै कर्मचारीबाट काम थालिएको उनको भनाइ छ। गिरीले भने, “हामीलाई आशा जगाएको छ।” रासस


























