चितवन, साउन १६ । सौराहाका होटल सञ्चालनमा आए पनि त्यहाँ आएका पर्यटकहरु घुम्नका लागि जाने चितवन राष्ट्रिय निकुञ्ज भने खुलेको छैन। लकडाउनसँगै निकुञ्जका सबै गतिविधि बन्द गरिएको थियो। बर्सातको समयमा निकुञ्जभित्र जिप सफारी रोकिने भए पनि अन्य गतिविधि रोकिँदैन।
सौराहा आउने पर्यटक हात्ती चढेर स्थानीय सामुदायिक वनमा रमाउने, राप्ती नदीमा डुङ्गा चढ्ने, जङ्गलमा पैदल यात्रा गर्ने गर्दछन्। सबै गतिविधिका लागि विदेशी पर्यटकले निकुञ्जको प्रवेश टिकट लिनुपर्ने हुन्छ। यसका लागि निकुञ्जले औपचारिकरूपमा अनुमति दिनुपर्दछ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलले कोरोनाको सङ्क्रमण जारी नै रहेकाले अध्ययन र छलफल गरेर मात्र निकुञ्जले अनुमति दिने बताए। उनले भने, “रोगको सङ्क्रमणको डर वन्यजन्तुलाई पनि हुन सक्छ।”
सौराहा आउने पर्यटकलाई हात्ती चढाएर स्थानीय कुमरोज, बाघमारा, चित्रसेन र खोरसोर मध्यवर्ती सामुदायिक वनमा घुमाउन लगिन्छ। सामुदायिक वनमा घुमे पनि आन्तरिक पर्यटकले प्रति व्यक्ति रु १००, भारतीयले रु एक हजार ६०० र अन्य देशकाले रु दुई हजार निकुञ्जलाई तिर्नुपर्ने हुन्छ। वन र वन्यजन्तुसँग रमाउनका लागि पर्यटक सौराहा आउने गर्दछन्। रासस


























