काठमाडौं, साउन १५ । सरकारले विपद्मा मृत्यु भएको परिवारलाई दुई लाख राहत दिने निर्णय गरेको छ। बिहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले एक जनाको मृत्यु भएमा दुई लाख र थप व्यक्तिको पनि मृत्यु भएमा प्रतिव्यक्ति एक लाखको दरले राहत दिने व्यवस्ता गरिएको जानकारी दिए।
मृतकको परिवारलाई उपलब्ध गराइने राहतमा एकद्वार नीति अवलम्बन गरिने छु, उनले भने, ‘यसमा दुईवटा कुरा छन्, संघ, प्रदेश र स्थानीय तह गरी तीन तहबाटै राहात जाँदा कहीँ दोहोरो तेहेरो पर्ने र कसैले पाउँदै नपाउने स्थिति नहोस् भनेर एकद्वार भनिएको हो। दोस्रो, राहतमा हामीले पटके निर्णय गर्दा मन्त्रिपरिषद्मा आइराख्ने र ढिलो हुने र राहत पाउन पनि महिनौं लाग्ने र सरकार पनि आलोचित हुने। त्यो नहोस् भनेर अहिलेचाहिँ मापदण्ड तयार गरिएको हो।’
अब राहत स्वतः स्थानीय तहबाटै परिचालित हुनेगरी जाने खतिवडाले बताए। त्यसको समन्वय पनि प्रमुख जिल्ला अधिकारीले गर्ने उनको भनाइ छ।


























