काठमाडौं, साउन १५ । उद्योगमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ। आफूलाई बझाङबाट एक व्यक्तिले फोन गरेर जहाँ भेट्यो त्यही ‘टाउको काट्छु’ भन्दै धम्की दिएको भट्टले बताए।
एमसीसीको पक्षमा आफूले बोल्दै आएकाले ज्यान मार्ने धम्की आएको भट्टको भनाइ छ।
‘मलाई बझाङबाट फोन गरेर एकजनाले एमसीसीको पक्षमा बोले जहाँ भेट्यो त्यहीँ टाउको काट्छु भनेर धम्की दिनु भएको छ’ उनले भने, ‘मैले एमसीसीबारे के अध्ययन गर्नुभएको छ भनेर सोध्दाचाहिँ उहाँले थाहा छैन भन्नु भयो।’
संसदको उद्योग, बाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा नेटवर्किङ बिजनेश बारेको छलफलमा बोल्दै उनले सो कुरा बताएका हुन्। अहिले नेटवर्किङ व्यवसायमा पनि एमसीसीमा जस्तै मान्छेले बुझ्दै नबुझी विभिन्न टिकाटिप्पणी गरिरहेको उनले दावी गरे।
बैठकमा सांसदहरुले विगतमा नेटवर्किङ व्यवसायबाट धेरै पीडित भएको सन्दर्भ कोट्याउँदै अहिले फेरि मन्त्रालयले कमिसनको चक्करमा सोही व्यवसायलाई स्वीकृति दिएको हो भन्दै प्रश्न गरेका थिए। जवाफमा मन्त्री भट्टले मन्त्रालयले कानुन कार्यान्वयनमात्रै गरेको बताए।
संसदले नै ०७४ सालमा नेटवर्किङ व्यवसाय सञ्चालनका लागि कानुन बनाएकाले अहिले मन्त्रालयले कार्यान्वयन गरेकाले त्यसमा कमिसनको चक्कर रहेको भन्ने प्रश्नै नरहने उनको दावी छ। ‘मन्त्रालयले कानुनको कार्यान्वयनमात्रै गरेको हो। मिडियामा नेटवर्किङ कम्पनी गर्दा गर्दा गर्दा मन्त्रीले अर्बौ खाएको भन्ने समेत आए । थोरै पुँजी भएको कम्पनी दर्ता गर्दा मैले कसरी अर्बौ खान्छु ?’, उनले भने।
उनले नेटवर्किङ व्यवसायबारे पहिलेको भूत धेरैमा अहिले पनि सवार रहेको पाइएको भन्दै अहिलेको नेटवर्किङ व्यवसायमा ठगी हुने सम्भावना नरहेको समेत दावी गरे।

























