साउन १५ । सुशान्तसिंह राजपूतका बुबा केके सिंहले प्रेमिका रिया चक्रवर्तीविरुद्ध मुद्दा (एफआईआर) दायर गराएदेखि उनी ‘फरार’ भएकी छन्। बिहार प्रहरीको टोली बुधबार अभिनेत्री रियासँग सोधपुछ गर्न मुम्बईस्थित उनको घरजाँदा घरमा थिइनन्। जसकारण बिहार प्रहरी रित्तै फर्किनुपरेको थियो।
खबरका अनुसार रिया बिहार प्रहरीको सोधपुछभन्दा अघि अग्रिम जमानतका लागि आफ्नो मुद्दा पेस गर्न चाहन्छिन्। भारतीय सञ्चारमाध्यमका अनुसार रियाले बिहार प्रहरीमा दायर भएको मुद्दाको छानबिन गर्न मुम्बई प्रहरीलाई सुम्पिनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराइसकेकी छिन्।
आफूविरुद्ध मुद्दा दायर भएसँगै रियाले बचाउका लागि भारतका सबैभन्दा ठूला वकिल सतिशमाने सिन्देको सहयोग लिइरहेकी छन्। जसले सलमान खानदेखि सञ्जय दत्तको केस हेरिसकेका छन्।
केके सिंहले रियाविरुद्ध ठगी, आत्महत्या गर्न उत्तेजित गरेको र मानसिक पीडा दिएको भन्दै मंगलबार बिहार प्रहरीमा ६ पानाको उजुरी दर्ता गराएका हुन्।
रियाविरुद्ध उजुरी दर्ता भएसँगै बलिउड कलाकारदेखि भारतका राजनीतिक विश्लेषकहरूले पनि केके सिंहले राम्रो गरेको र रियालाई सजाय दिनैपर्ने कुरामा जोड दिइरहेका छन्। नवभारत टाइम्स


























