चितवन, साउन १४ । यहाँको नारायणी नमूना माध्यमिक विद्यालयलाई उत्कृष्ट नमूना विद्यालय बनाउन विभिन्न गतिविधि गरिँदै आएको छ। आजमात्र विद्यालयमा चार कार्यक्रम गरिएका छन्। विद्यालयका दुई भवनको शिलान्यास, आइसिटी प्रयोगशालाको उद्घाटन र वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो।
प्रतिनिधिसभा कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलको प्रमुख आतिथ्यतामा प्रयोगशालाको उद्घाटन गरिएको छ। सूचना तथा सञ्चार मन्त्रालय नेपाल टेलिकमको रु २४ लाख र एशियाली विकास बैंकको नमूना विद्यालय कार्यक्रमअन्तर्गत रु ५० लाख सहयोगमा प्रयोगशाला निर्माण गरिएको हो। विद्यालयका प्राचार्य पूर्णप्रसाद दवाडीका अनुसार प्रयोगशालामा ९० कम्प्युटर, ३२ प्रोजेक्टर, फोटोकपी मेशिनलगायत सामग्री रहेका छन्।
पोख्रेलले प्रयोगशालाको उद्घाटन गर्दै विद्यालयलाई उत्कृष्ट नमूना विद्यालय बनाउन आफ्ना तर्फबाट आवश्यक सहयोग गर्ने बताए। यसअघि आजै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुईवटा भवनको शिलान्यास र वृक्षरोपणको शुभारम्भ गरेकी थिइन्।
सो अवसरमा उनले एसियाली विकास बैंकको सहयोगमा बन्न लागेको तीनतले भवन र पुनः निर्माण प्राधिकरण शिक्षा इकाइको सहयोगमा बन्न लागेको चारकोठे एकतले भवनको शिलान्यास गरेकी थिइन्। बैंकले विद्यालयलाई पाँच वर्षसम्म रु एक करोड ५० लाखका दरले सहयोग गर्दैछ। प्राधिकरणको रु ६६ लाखको लागतमा भवन निर्माण गर्न लागिएको हो।
दाहालले महानगर क्षेत्रमा दुईवटा नमूना विद्यालय रहेको भन्दै अन्यलाई सिको गर्दै अगाडि बढ्न आग्रह गरिन्। दाहालले यस विद्यालयलाई देशको पहिलो नमूना विद्यालय बनाउनका लागि स्थानीय सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। अहिले प्रविधि मैत्री र प्राविधिक शिक्षा हुनुपर्ने उनले बताइन्। उनले भनिन्, “शिक्षा क्षेत्रमा अब बहुप्राविधिक शिक्षा आवश्यक छ। यसका लागि वडा नं २३ मा बहुप्राविधिक शिक्षालय यही शैक्षिक सत्रबाट सञ्चालनमा ल्याउन लागेका छौँ।”
यसैगरी नारायणी नमूना मावि भरतपुरले ‘एक विद्यार्थी एक बिरुवा, एक विद्यालय एक बगैँचा’ कार्यक्रम शुरु गरेको छ। विश्व भूसंरक्षण दिवसको अवसरमा विद्यालय परिसरमा वृक्षरोपण गरी कार्यक्रमको शुभारम्भ गरिएको हो। सो अवसरमा १५२ विभिन्न जातका बिरुवा रोपिएको थियो। अमला, चाँप, खयर, जमुना, श्रीखण्ड, मसला, रक्तचन्दनलगायत बिरुवा रोपिएको हो। वृक्षरोपणका लागि डिभिजन वन कार्यालय, लायन्स क्लब अफ बागेश्वरी नारायणी र रोटरी क्लबले सहयोग गरेको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख मुनाकुमारी श्रेष्ठ, उद्योग सङ्घका अध्यक्ष राजु पौडेल लगायतले बोलेका थिए। सो विद्यालयमा गत शैक्षिक सत्रमा दुई हजार ४७८ विद्यार्थी रहेका थिए। प्रवेश परीक्षा लिएरमात्र विद्यालयले विद्यार्थी भर्ना गर्ने गर्दछ।
वडा कार्यालय शिलान्यास
भरतपुर महानगरपालिका–१० को नयाँ भवन आज शिलान्यास गरिएको छ। महानगरप्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले संयुक्त रुपमा भवनको शिलान्यास गरेकाछन्।
जिल्ला समन्वय समितिले उपलब्ध गराएको जग्गामा भवनको शिलान्यास गरिएको हो। दुई हजार ३१९ वर्ग फिटको सो भवन २०७७ साल चैत १० गते सम्पन्न गर्ने गरी धुलिखेल निर्माण सेवा वानेश्वरले जिम्मा लिएको हो। रु एक करोड ५७ लाख १३ हजार ४०० मा निर्माण सम्पन्न हुनेछ । दुईतले सो भवनमा छ कोठा र एउटा सभाहल रहने महानगरपालिकाका डिभिजन इन्जिनीयर रत्न लामिछानेले जानकारी दिए। रासस


























