सिन्धुपाल्चोक, साउन १४ । धारिलो हतियार खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
मेलम्ची नगरपालिका–४ बस्ने थानकुनेका सोमबहादुर तामाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।
सोही ठाउँका साइला तामाङसँग सामान्य भनाभन हुँदा सोमबहादुरले खुकुरी प्रहार गरेका थिए। खुकुरी हानेको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय मेलम्ची र भोटेचौरको टोलीले सोमबहादुरलाई घर नजिकै लुकिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते साइलाको दीर्घायु अस्पातल काठमाडौँमा उपचार भइरहेको प्रहरी निरीक्षक तामाङले बताए। खुकुरी प्रहार गर्ने सोमबहादुरलाई नियन्त्रणमा लिएर मङ्गलबार जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद थप आदेश लिई अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए।
आइतबार आफ्नै छोरालाई खुकुरी प्रहार गरी घाइते बनाउने बाबु पनि पक्राउ परेका थिए। मेलम्ची–१२ थाक्लेका ५७ वर्षीय नवराज तामाङले आफ्नै छोरा २८ वर्षीय पूर्णबहादुरलाई खुकुरी प्रहार गरेका हुन्।
घरायसी विवाद भएको र खुकुरी प्रहार गर्दा पूर्णबहादुरको टाउको, घुँडा, पैतालालगायत भागमा काटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक तमाङले जानकारी दिए।
गम्भीर घाइते पूर्णबहादुरको धुलिखेल अस्पातलमा उपचार भइरहेको छ। घटना थाहा पाउनेबित्तिकै पुगेको प्रहरी टोलीले घर नजिकैबाट खुकुरी प्रहार गर्ने बाबु नवराजलाई नियन्त्रणमा लिएर जिल्ला अदालत सिन्धुपाल्चोकमा पेश गरेको छ।
अदालतले १० दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए।


























