काठमाडाैं । केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका पूर्वमन्त्री सुनिलबहादुर थापासहित एक दर्जनभन्दा बढी केन्द्रीय नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। काँग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले थापासहितका नेतालाई पार्टी सदस्यतासहित स्वागत गरे। पार्टी प्रवेशसँगै राप्रपाका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिललाई पार्टी सहमहामन्त्री मनोनयन गरिएको सभापति देउवाले कार्यक्रममा जानकारी गराए। ‘जनताका आधारभूत स्वतन्त्रतामाथि प्रहार भइरहेका बेला सबै लोकतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने अवस्था छ,’ सभापति देउवाले भनेआ, ‘प्रेस स्वतन्त्रता कुण्ठित गर्ने, नागरिकका फोन ट्र्यापिङ गर्नेलगायत अलोकतान्त्रिक गतिविधि नियन्त्रणका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एक गराउने अभियानमा काँग्रेस लागेको छ।’
नवप्रवेशी नेताहरुलाई हीन भावना त्यागी सबैको अधिकार समान हो भन्ने भावनाले लोकतन्त्र प्रवर्द्वनका लागि काम गर्न पनि सभापति देउवाले आह्वान गरे। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुनिलबहादुर थापा प्रतिगामी कित्तामा जान असहमत भई काँग्रेस प्रवेश गरेका बताउँदै राजतन्त्र पुनःस्थापना गर्ने लक्ष्यले राप्रपा एकजुट भएकोप्रति आपत्ति जनाए। ‘कम्युनिष्ट पार्टीले संवैधानिक रुपमा व्यवस्थित गरिएका लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात् नगरेका बेला राजतन्त्र पुनःस्थापनाको मुख्य लक्ष्य लिएर राप्रपा एकजुट हुँदा फेरि देश प्रयोगशालामा परिणत हुन लागेको छ,’ उनले भने, ‘यसलाई रोक्न लोकतान्त्रिक शक्ति एक हुनुको विकल्प छैन।’
पार्टी उपसभापति विमलेन्द्र निधिले लोकतन्त्रमाथि वर्तमान सरकारबाटै खतरा रहेको उल्लेख गर्दै हिन्दू राष्ट्रको मुद्दा मान्न तयार हुन सकिए पनि राजतन्त्र पुनःस्थापनामा सहमत हुन नसकिने बताए। पञ्चायती व्यवस्थामा पनि उदारवादी छवि बनाएका पूर्व प्रधानमन्त्री थापाको परिवार पुनःकाँग्रेस प्रवेश गरेपछि नेपालमा लोकतन्त्रवादी शक्ति बलियो हुने उनको भनाइ थियो।
कांग्रेसमा प्रवेश गरेका नेता थापाले भने पटकपटक प्रजातन्त्र स्थापना एवं पुनर्स्थापनाको नेतृत्व गरेको दल काँग्रेस प्रवेश गर्दा आफूलाई अपार हर्ष र खुसी लागेको अनुभव सुनाए। आफ्ना पिता पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा पहिले काँग्रेसमै रहेको प्रसङ्ग काेट्याउँदै उनले भने, ‘विश्व परिवेशबाट नेपाल एक्लिन थालेको छ, यसैले लोकतन्त्रवादी शक्तिबीच वृहद् एकताको विकल्प छैन, यो विचारमा राप्रपा सहमत नभएपछि हामी काँग्रेस प्रवेश गरेका हौँ।’
सँगै काँग्रेस प्रवेश गरेका नेता वृजलाल यादवले मधेशी, जनजाति, दलितलगायत उपेक्षित वर्गका विषयमा राप्रपाले आवाज उठाउन छोडेपछि काँग्रेस प्रवेश गर्नुपरेको बताए। काँग्रेस प्रवेश गर्नेमा थापासँगै धनकुटा राप्रपाका सबै तहका समिति रहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कांग्रेस प्रवेश गर्ने राप्रपाका अन्य नेताहरुमा बाराका नेता यादव, मोरङका नेता रामकृष्ण भट्टराई, पूर्व गृहराज्य मन्त्री विष्णुविक्रम थापा, भोजपुरका बाबुराम बस्नेत, झापाका दिलीप राई, नुवाकोटका राज्यलक्ष्मी श्रेष्ठ, झापाकै चतुरमान विक, सर्लाहीका रामपदारत साह, भोजपुरका डा सुरेश बस्नेत, रुपन्देहीका प्रतिमा राणा क्षत्री, भोजपुरका नारायण राउत र सिन्धुपाल्चोकका इन्द्रबहादुर राउत छन्। – रासस


























