चितवन, साउन ११ । गत साता परेको अविरल वर्षासँगै बाढी र पहिराले पृथ्वीराजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड क्षतविक्षत भएको छ। बयानब्बे किलोमिटर लामो सो सडकखण्डमा २०० भन्दा बढी ठाउँमा पहिरो खसेको थियो।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार सो सडकखण्डको जोगिमारा र धारापानीमा अझै सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ। सडक खण्डको मौवा खोलामा पुल र सडक जोड्ने भाग नै नदीले बगाएको थियो। ती सबै ठाउँको मर्मत सम्भार गरी शुक्रबारदेखि सवारी सञ्चालनमा ल्याइएको अधिकारीले जानकारी दिए। मौवा खोलामा यही साउन ५ गते बिहान सडक बगाएपछि सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको थियो।
राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य नाका भएकाले चौतर्फी दबाब र सहयोगले सडक सञ्चालनमा ल्याए पनि वर्षात्ले निकै नोक्सान पुगेको अधिकारीले बताए। उनले भने, “पचास किमीजति ठाउँमा कालोपत्र बिग्रिएको छ। पहिरो खसेको, धसिएको ठाउँ, बगाएको सडकलगायतका क्षेत्रमा कालोपत्रमा नोक्सानी भएको छ।
छिट्टै सबै ठाउँमा सडक दुईतर्फी सञ्चालनमा आए पनि पूर्ववत् अवस्थामा सडकलाई मर्मतसम्भार गर्न एक वर्ष लाग्ने उनको भनाइ छ। क्षतिको विवरण सङ्कलन गरेर लगत अनुमान तयार गरी प्रक्रियामा अघि बढ्नुपर्ने भएकाले सबै काम गर्न समय लाग्ने अधिकारीले बताए। सो सडक खण्ड बिस्तारका लागि विश्व बैंकको सहयोगमा परियोजना अघि बढेकाले धेरै खर्च गर्ने पक्षमा सडक विभाग छैन।
अधिकारीले भने, “अत्यावश्यक काम मात्र हामी गर्छौं।” सो सडकखण्डमा छदेखि सात मिटर फराकिलो कालोपत्र रहेको छ। अधिकांश भाग एकातर्फ अग्लो पहाड र अर्कोतर्फ त्रिशूली नदी पर्दछ। यस्तै सोही कार्यालयले हेर्ने नारायणगढ–मुग्लिन सडकको चार किलो र १६ किलोमा पटकपटक पहिरो खस्दा समस्या हुने गरेको छ।
दुई वर्षअघि सडक बिस्तार गरिएको भए पनि पहिरो रोक्ने काम गर्न नपाउँदै चार किलोमा पहिरो खसेको हो। दुवै ठाउँमा अझै दुईतर्फी सडक सञ्चालन हुन सकेका छैनन। यस सडकखण्डमा पनि ठाउँठाउँमा साना पहिरो खस्दा क्षति पुगेको छ। सडकमाथिको डाँडामा ग्रामीण क्षेत्रमा बनाइएका बाटामा पानी एकीकृत भएर एकै ठाउँबाट खस्दा मूल सडकमा क्षति पुगेको अधिकारीले बताए। यससँगै वर्षात् बढी भएकाले सडकमा नोक्सान गरेको उनको भनाइ छ। रासस


























