काठमाण्डौं, साउन ९ । राष्ट्रिय विभूति भीमसेन थापाको २४५ औँ जन्मजयन्तीका अवसरमा आज थापाप्रति श्रद्धान्जलि अर्पण गरिएको छ। यस वर्ष विश्वव्यापी महामारी कोभिड–१९ का कारणले सामूहिक भेला हुन सक्ने अवस्था नभएकाले औपचारिक कार्यक्रम नगरी थापाप्रति श्रद्धासुमन अर्पण गरिएको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले जनाएको छ।
नेपाल एकीकरणको प्रमुख अध्याय समाप्त भएको करिव छ वर्षपछि विसं १८३२ साउन ९ गते बगाले थापाकुलका पिता साना अमरसिंह थापा र माता सत्यरूपातर्फका पाँच भाइ छोरामध्ये जेठा छोराका रूपमा भीमसेन थापाको जन्म गोरखा बोर्लाङमा भएको थियो। विसं १८५५ मा २३ वर्षकै उमेरमा उनी सरदार पदवी प्राप्त गर्न सफल भएका थिए। राष्ट्रिय स्वाभिमान, स्वाधीनता र स्थायित्वका लागि अङ्ग्रेजसँग युद्ध गरेका थापाले तत्कालीन राजदरबारको अनेक षडयन्त्रमा परी जेलमा बन्दी अवस्थामै १८९६ साउन ८ गते प्राण त्याग गर्ने प्रयास गरेको आठ दिनपछि वीरगति प्राप्त गरेका थिए।
विसं २०५३ साउन १ गते स्थापित प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि नेपालको इतिहासबारे अध्ययन र अनुसन्धान गरी उल्लेखनीय कार्य गर्ने इतिहासकारलाई भीमसेन थापाको स्मृतिमा सम्मानपत्र एवं पुरस्कार प्रदान गर्दै आएकामा यस वर्ष भने वितरण गर्न नसकेको प्रतिष्ठानका सचिव लक्षण थापाले जानकारी दिए।


























