मुम्बई, साउन ९ । दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम चलचित्र ‘दिल बेचारा’ शुक्रबार (आज) रिलिज हुँदैछ। चलचित्र बेलुका ७ः३० बजे भारत, अमेरिका, यूके र क्यानडाका डिज्नी प्लस हटस्टारका सब्सक्राइबर र ननसब्सक्राइबर दुवैका लागि एकैसाथ प्रिमियर हुँदै छ।
निर्माण टिमले सुशान्तलाई समर्पण स्वरूप चलचित्र सबैका लागि निःशुल्क देखाउने घोषणा गरेका छन्। अर्थात् डिज्नी प्लस हटस्टारका ग्राहक नभए पनि चलचित्र हेर्न पाउनेछन्। यस चलचित्र जोन ग्रिनको किताब ‘फल्ट इन आवर स्टार’ र सन् २०१४ मा रिलिज भएको सोही नामको हलिउड चलचित्रको हिन्दी रिमेक हो।
कास्टिङ डिरेक्टर मुकेश छाब्राको निर्देशकीय डेब्यु यस चलचित्रमा सुशान्त र सन्जना सान्घी लिड रोलमा छन्। भने सन्जनाको यो देब्यु चलचित्र हो। उनीहरूका साथै सैफ अली खान, स्वस्तिका मुखर्जी र जावेद जफरीको पनि महत्त्वपूर्ण भूमिका रहनेछ।
‘दिल बेचारा’ क्यानसर पीडित किजीको (सन्जना) सपोर्ट ग्रुपमा जानेक्रममा क्यान्सरलाई जित्न सफल म्यानी (सुशान्त) सँग भेट हुन्छ। विस्तारै उनीहरू एक–अर्कासँग नजिकिन थाल्छन् र म्यानीले किजीको हरेक सपना पूरा गरिदिन्छन्। ६ जुलाईमा रिलिज भएको चलचित्रको ट्रेलरले चौबीस घण्टाभित्र धेरै लाइक कमाएर हलिउड चलचित्र ‘एभेन्जर्स एन्ड गेम’ लाई पनि उछिनेको थियो।
चलचित्रका गीतहरू कम्पोजर एआर रहमानले गरेका थिए। दुईदिन अघि मात्रै चलचित्रको टिमले सुशान्तलाई सांगीतिक श्रद्धाञ्जलि अर्पण गरेका थिए। एजेन्सी


























