काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आन्तरिकतर्फ बन्दाबन्दी भएपछिकै सबैभन्दा धेरै उडान भएकाे छ। बुधबार मात्रै एकैदिन १६ वटा आन्तरिक उडान भएकाे विमानस्थलले जनाएकाे छ। यसअघि असारको दोस्रो साता दैनिक १० देखि १४ वटासम्म आन्तरिक उडान भएका थिए। बुधबार भएका उडानमा यती एयरलाइन्सले पोखराबाट सबैभन्दा बढी ५२ यात्रु काठमाडौँ ल्याएको छ भने सीता एयरले काठमाडाैंबाट १६ यात्रुलाई सुर्खेत लगेकाे छ।
सिम्रिक, कैलाश, मनाङ एयर र एयर डाइनेष्टिको हेलिकप्टरले पनि विभिन्न गन्तव्यमा उपचार उडान गरेको विमानस्थलले जनाएको छ। सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा बाह्य उडान सञ्चालन गर्ने निर्णय गरिसकेको छ। बुधबारदेखि बन्दाबन्दी खुले पनि अन्तर्राष्ट्रिय उडान भने भएका छैनन्। दुई दिन उडान स्थगन गरेर शुक्रबारदेखि पुनःअन्तर्राष्ट्रिय चार्टर्ड उडान हुने विमानस्थलले जनाएको छ।
कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले गत चैत ११ बाट देशभर लागू गरेको बन्दाबन्दी मङ्गलबार रातिदेखि पूर्णरुपमा हटाउने निर्णय गरेकाे थियाे भने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पनि साउन ६ गतेसम्म प्रतिबन्ध गरेकाे थियो।


























