चितवन । पहिरो खसेपछि अवरुद्ध भएकाे नारायणगढ–मुग्लिन सडकखण्ड बुधबार साँझ करिब पाैने आठ बजेदेखि सञ्चालनमा आएको छ । मङ्गलबार राति १६ किलोमा खसेको पहिरो बुधबार दिनभरकाे प्रयासपछि साँझ पाैने आठ बजेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयाेजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए। भरतपुर महानगरपालिका वडा नं २९ को लामाे बालुवा पुल नजिकै मंगलबार राति करिब पाैने नाै बजेकाे समयमा ठूलाे चट्टानसहित पहिरो झरेको थियो।
ब्रेकरले चट्टान फोरेर पहिरो पन्छाएपछि एकतर्फी बाटाे खुलेकाे उनले बताए। ठूलाे पहिराे झरेपछि करिब डेढसय मिटर सडक नै पुरेकाे थियाे। पहिरोकाे केही अंश पन्छापछि दुईदिनदेखि बाटैमा राेकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।

चितवन र धादिङकाे सिमानामा पर्ने माैवाखोलाले बगाएको एप्रोच सडकको कामसमेत तीब्र गतिमा भइरहेकाे आयाेजनाका सूचना अधिकारी खनालले जानकारी दिए। मौसम अनुकुल रहेमा बिहीबार साँझ वा शुक्रबार दिउँसोसम्ममा माैवाखोलाको मर्मत कार्यसमेत सम्पन्न गरी मुग्लिन-मलेखु-नौबिसे सडक पनि सुचारु गरिने उनले बताए।


























