काठमाडौं, साउन ७ । विभागीय क्लब सशत्र प्रहरी बल (एपीएफ) मा आबद्द विभिन्न खेलका खेलाडी, प्रशिक्षक र रेफ्रीगरी २१ जना बढुवा भएका छन्।
नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी गोपीचन्द्र पार्कीसहित १७ खेलाडी शसस्त्रको जवानबाट सहायक हवल्दारमा बढुवा भएका हुन्।
यस्तै बढुवा हुनेमा दुई प्रशिक्षक र दुई रेफ्री रहेका छन्। उनीहरु बढुवाको नियमित प्रक्रिया अनुसार रोलक्रममा बढुवा भएका हुन्।
‘एपीएफको नियमित प्रक्रिया अनुसार हवल्दारमा बढुवा हुँदा खेलाडी, प्रशिक्षक र रेफ्री गरी २१ जना बढुवा भएका छन्,’ एपीएफका व्यवस्थापक तथा इन्स्पेक्टर विजय केसीले भने,’उनीहरु रोलक्रम अनुसार बढुवा भएका हुन्।’
गोपीले सागमा एथ्लेटिक्सको ५ हजार मिटर दौडमा नेपाललाई स्वर्ण दिलाएका थिए। यस्तै सागमा फेन्सिङबाट कास्य विजेता ज्ञानेन्द्र तिमिल्सना र सागमै प्रतिस्पर्धा गरेकी एथलेटिक्सकी फुलमती राना पनि बढुवा भएकी छिन्।
बढुवा हुने प्रशिक्षकमा क्रिकेटका राजेश श्रेष्ठ र फुटबलका गंगा गुरुङ रहेकी छिन्। रेफ्रीमा फुटबलका फिफा रेफ्री सहदेव श्रेष्ठ र महिला फुटबल रेफ्री मेरिना धिमाल रहेकी छिन्।
उनीहरुलाई शसस्त्र प्रहरी उपरिक्षक तुलसीराम दहालले बुधबार दर्जान्ही चिन्ह प्रदान गरेका थिए।
तर, दर्जान्ही चिन्ह लिन ८ जना मात्र उपस्थित भएका थिए। अन्य खेलाडी उपत्यका बाहिर ड्युटीमा रहेका कारण उपस्थित नभएका हुन्।


























