काठमाडौं, साउन ७ । अर्थमन्त्री डा.युवराज खतिवडाले व्यवसायीहरूले अनावश्यक संरक्षण माग्न थालेको बताएका छन्। संसदको उपभोक्ता हित संरक्षण समितिको बैठकमा मन्त्री खतिवडाले उद्योगीहरूले पहिले कच्चा पदार्थ र तयारी वस्तुमा एक तहको भन्सार अन्तर कायम हुनुपर्ने माग गर्ने गरेकोमा अहिले दुई तहको अन्तर माग गर्न थालेको भन्दै धेरै संरक्षण खोज्दा त्यसले उपभोक्तालाई महँगो पर्न सक्ने उल्लेख गरे।
‘केही अपवादबाहेक कच्चा पदार्थ र तयारी वस्तुमा एक तहको भन्सार दर अन्तर गरिएको छ। तर, स्वदेशी उत्पादक साथीहरूले अहिले दुई तहको अन्तर माग गर्न थाल्नु भएको छ, पहिले एक तहको माग्नु हुन्थ्यो,’ उनले भने, ‘कति प्रतिशत औद्योगिक संरक्षण दियो भने उद्योगको संरक्षण हुन्छ र उपभोक्ताको पनि हित हुन्छरु वस्तुमा अनावश्यक संरक्षण दियो भने मूल्य बढ्छ र उपभोक्ता पनि मारमा पर्छन्।’
खतिवडाले न्यूनतम १० प्रतिशतदेखि बढीमा २० प्रतिशतको संरक्षणमा उद्योगहरू प्रतिस्पर्धी हुन सक्नुपर्ने बताए। ‘हामीले १५ प्रतिशत महँगो भए पनि स्वदेशी वस्तु नै लिनु भन्नुको अर्थ निश्चित संरक्षण भन्ने हो,’ उनले भने, ‘हामीले जति महँगो भए पनि लिनू भनेका छैनौँ, उपभोक्तालाई पनि हामीले हेर्नुपर्छ।’ खतिवडाले १० प्रतिशत पनि मूल्य अभिवृद्धि नहुने वस्तुलाई कच्चा पदार्थ र तयारी वस्तुमा वर्गीकरण गर्न समस्या भइरहेको बताए।
खतिवडाले २० प्रतिशत संरक्षण दिएपछि उद्योगहरू प्रतिस्पर्धी बन्नुपर्ने उल्लेख गरे। ‘२० प्रतिशत संरक्षण पाएपछि उद्योगहरु प्रतिस्पर्धी हुनुपर्छ भन्ने मेरो धारणा छ, भन्सार बढाएका कारण भन्सार जोडेर मूल्य अभिवृद्धि होइन, भन्सार विन्दूमा १०० रुपैयाँमा आइपुगेको सामानबाट १२० रुपैयाँ हुने गरी उत्पादन भयो भने बल्ल कच्चा पदार्थ र तयारी वस्तु भनेर छुट्टिन्छ,’ उनले भने, ‘हामीले छलफल गरेका वस्तुमा ८/१० प्रतिशत मूल्य अभिवृद्धि भएको छ। लामो समय अनुसन्धान गरेकाले म वस्तु नै तोकेर भन्न सक्छु तर यहाँ धेरै कुरा एक्सपोज नगरौँ।’
मन्त्री खतिवडाले संरक्षण दिँदा मूल्य अभिवृद्धि हुने र उपभोक्ताको हित हुने क्षेत्र हेरेर मात्रै संरक्षण दिइने पनि उल्लेख गरे।




















