तनहुँ । अविरल वर्षाका कारण मङ्गलबार बिहानसम्ममा तनहुँका विभिन्न स्थानका तीस घर परिवार विस्थापित भएका छन्। पृथ्बी राजमार्गअन्तर्गत बन्दिपुर गाउँपालिका–१ नाला नजिकै करिब दश मिटर लामो पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ भने कम्तिमा पन्ध्र घरका परिवार गरी करिब ७५ जना विस्थापित भएका छन्। पहिराले घर तल बगाउन थालेपछि मानिसहरु समयमै घरबाट भाग्न सफल भएका कारण मानवीय क्षति भने हुन नपाएको बन्दिपुर–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए।
त्यस क्षेत्रका ६ घरपरिवारलाई छिमेकी र स्थानीय आमा समूहको भवनमा सारिएको छ। विस्थापित हुनेमा अर्जुन अधिकारी, सुरेश अधिकारी, कुलनारायण थापा, बलबहादुर शाही, रतन शाही र टीकाराम श्रेष्ठको घर पूर्ण रुपमा क्षति भएको छ भने अन्यको घर चिरिएको उनले बताए। डुम्रे बजार नजिकै केही महिनाअघि मात्रै स्थापना गरिएको कुँवेर आयल स्टोर्समा समेत पहिराले ठूलो क्षति पुर्याएको छ। त्यसैगरी बन्दिपुर गाउँपालिका–४ र ६ का आठ घरपरिवार पनि पहिराले विस्थापित भएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए। कतिपय मानिसहरु अझै सम्पर्कमा आउन नसकेका कारण क्षतिको विवरण बढ्न सक्ने अनुमान गरिएको छ।
आँबुखैरेनी–२ खोलागाउँमा पहिराले घरमा क्षति पुर्याउँदा चार घरपरिवार विस्थापित भएका छन्। विस्थापित परिवारमध्ये केहीलाई तत्कालका लागि छिमेकीको घरमा र केहीलाई सङ्घसंस्थाको भवनमा स्थानान्तरण गरिएको छ। आँबुखैरेनी–४ स्थित ऐनापहरा नजकि केही समयअघि पहिराले राजमार्ग अवरुद्ध हुँदा आठ घण्टापछि पुनः सञ्चालन गरिएको थियो। सोमबार मात्रै जिल्लाको भानु नगरपालिकमा पहिराले घर पुरिँदा नातिनी र बज्यै गरी दुई जनाको मृत्यु भएको थियो। – रासस


























