तनहुँ । सोमबार रातिदेखि परेको अविरल वर्षापछि अवरुद्ध भएको मुग्लिन–पोखरा सडकखण्ड मंगलबार साँझ ८ बजेदेखि पुनः सञ्चालनमा आएको छ। पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिकामा पर्ने मार्कीचोक र ऐनापहरामा गएको पहिरो पन्छाएपछि अवरुद्ध राजमार्ग पुनः सञ्चालनमा आएको हो। पृथ्वीराजमार्ग क्षेत्रमा सानाठूला गरी करिब दशभन्दा बढी स्थानमा पहिरो जाँदा राजमार्ग अवरुद्ध थियाे।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार साेमबारदेखि अवरुद्ध सडक खुलाउन पाँचवटा डोजर, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले बिहान ७ बजेदेखि नै प्रयास गरेका थिए। सोमबार बिहान पानी परिरहे पनि दिउँसो पानी रोकिएपछि घाम लागेका कारण पहिरो पन्छाउन केही सहज भएको उनले बताए। पृथ्वीराजमार्गअन्तर्गत दमौली–थर्पु र दमौली–डुम्रे सडकखण्ड क्षेत्रको पहिरो पन्छाई सकेपछि बाँकी रहेको आँबुखैरेनी क्षेत्रको पहिरो हटाएकाे उनले बताए।
तीस घरपरिवार विस्थापित अविरल वर्षाका कारण मङ्गलबार बिहानसम्म तीस घर विस्थापित भएका छन् । राजमार्गअन्तर्गत जिल्लाको बन्दिपुर गाउँपालिका–१ नाला नजीकै करीब दश मिटर लामो पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ भने कम्तीमा पन्ध्र घरका परिवार गरी करीब ७५ जना विस्थापित भएका छन् । पहिराले घर तल बगाउन थालेपछि मानिसहरु छिटो घरबाट भाग्न सफल भएका कारण मानवीय क्षति भने हुन नपाएको बन्दिपुर–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस क्षेत्रका ६ घरपरिवारलाई छिमेकी र स्थानीय आमा समूहको भवनमा सारिएको छ । विस्थापित हुनेमा अर्जुन अधिकारी, सुरेश अधिकारी, कुलनारायण थापा, बलबहादुर शाही, रतन शाही र टीकाराम श्रेष्ठको घर पूर्ण रुपमा क्षति भएको छ भने अन्यको घर चिरिएको अवस्थामा रहेको छ । त्यसैगरी डुम्रे बजार नजीकै केही महिनाअघि मात्रै स्थापना गरिएको कुँवेर आयल स्टोर्समा समेत पहिराले ठूलो क्षति भएको छ । त्यसैगरी बन्दिपुर गाउँपालिकाको–४ र ६ का आठ घरपरिवार पहिराले विस्थापित भएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । कतिपय मानिसहरु अझै सम्पर्कमा आउन नसकेका कारण क्षतिको विवरण बढ्न सक्ने अनुमान गरिएको छ । त्यसैगरी जिल्लाको आँबुखैरेनी–२ खोलागाउँमा पहिराले घरमा क्षति पु¥याउँदा चार घरपरिवार विस्थापित अवस्थामा पुगेका छन् । विस्थापित परिवारमध्ये केहीलाई तत्कालका लागि छिमेकीको घरमा र केहीलाई सङ्घसंस्थाको भवनमा स्थानान्तरण गरिएको छ । आँबुखैरेनी–४ स्थित ऐनापहरा नजीक केही समय अघि पहिराले राजमार्ग अवरुद्ध हुँदा आठ घण्टापछि पुनः सञ्चालन गरिएको थियो । सोमबार मात्रै जिल्लाको भानुनगरपालिकमा पहिराले घर पुरिँदा नातिनी र बज्यै गरी दुई जनाको मृत्यु भएको थियो ।

























