रमेश लम्साल/नारायण ढुङ्गाना,
काठमाडौँ । कोभिड-१९ को संक्रमण रोक्न चैत ११ देखि लागू गरेको बन्दाबन्दीलाई झण्डै चार महिनापछि मंगलबार रातिदेखि लागू हुने गरी विधिवत् रुपमा अन्त्य गर्ने भएपछि सरकारले अधिकांश सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। आर्थिक गतिविधिलाई सहजीकरण गर्दै यसअघि केही सेवा सञ्चालन गरिएकामा सोमबारको निर्णयले अन्य थप सेवा सञ्चालन हुने भएको छ। जोखिम कायम रहेका केही सीमित गतिविधिमा रोक लगाउने यसअघिको निर्णय भने कायम राखेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान र लामो दूरीको यातायात सेवासमेत भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ। सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्डबमोजिम हुने गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक तथा अन्य उडान भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ।
यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्डअनुसार हुने गरी छोटो, मध्यम तथा लामो दूरीमा जिल्लाभित्र र अन्तर जिल्लामा सञ्चालन हुने गरी निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसमेत भदौ १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए। सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री डा खतिवडाले भने, ‘अन्तर्राष्ट्रिय खेलकूदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेलसमेत भदौ १ देखि नै सञ्चालन गर्न सकिनेछ।’
सामूहिक भोज पार्टी, सेमिनार वा अन्य सामूहिक भेलाबाहेक होटल, रेष्टुरेन्ट तथा ट्रेकिङ, ट्राभल र पर्वतारोहणका गतिविधि पनि साउन १५ देखि सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ। भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा चल्ने विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षासमेत भदौ १ बाट सञ्चालन गर्न सकिने डा खतिवडाले जानकारी दिए। विद्यालय कलेज, ट्युशन सेन्टर, तालीम केन्द्र सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार, सबै प्रकारका प्रदर्शनी, भेला तथा सम्मेलन, सिनेमाहल, पार्टी, प्यालेस डान्सबार मनोरञ्जल स्थलहरु भने अर्काे सूचना नआएसम्मका लागि सञ्चालनमा रोक लगाइएको छ।
यद्यपि कोभिड–१९ को प्रभाव र त्यसको सङ्क्रमणको अवस्थाका आधारमा भदौ १ अघि नै सरकारले उक्त विषयमा निर्णय लिन सक्नेसमेत मन्त्री डा खतिवडाले जानकारी गराए। उनका अनुसार सैलुन, ब्युटीपार्लर, स्विमिङपुल, जिमखाना, धार्मिक तथा सामाजिकस्थल, समूहमा खेलिने खेल, पुस्तकालय सङ्ग्रहालय चिडियाखाना पनि अर्काे सूचना जारी नभएसम्मका लागि सञ्चालन गर्न पाइने छैन। सेवा सञ्चालन भएका क्षेत्रमा भने कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्नुपर्नेछ। मास्क प्रयोग गर्नुपर्ने, पटकपटक साबुन पानीले हात धुनुपर्ने, सानिटाइजरको प्रयोग गर्नुपर्नेछ।
सरकारले सङ्कटका कालोबजारी र जम्माखोरी गर्ने व्यक्तिहरुलाई भने कानूनअनुसार कारवाही गर्ने जनाएको छ। अन्तर्राष्ट्रिय सीमा आवागमन साउन ३२ सम्म रोक सरकारले अन्तर्राष्ट्रिय सिमानाबाट नेपाल प्रवेशमा लगाएको रोक भने कायमै राखेको छ। यसरी प्रवेश गर्ने सबै विन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने यसअघिको निर्णयलाई आगामी साउन ३२ सम्म कायमै राखिएको डा खतिवडाले बताए। तर अत्यावश्यक सामग्रीको ढुवानी तथा असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा व्यक्तिका लागि भने तोकिएको विन्दुबाट प्रवेशको व्यवस्था गरिनेछ।
सरकारी कार्यालयहरु अब बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने उनले बताए। यसअघि सरकारले बिहान ८ देखि १ र १ देखि ५ बजेसम्म दुई सिफ्टमा कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो। सरकारले सवारी साधनमा लगाउँदै आएको जोरबिजोर प्रणालीसमेत हटाएको डा खतिवडाले जानकारी दिए। – रासस


























