चितवन । करिब ३६ घण्टाको प्रयासपछि नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसो ४:३० बजेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ। नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा ठूलो पहिरो गएपछि पहिरो हटाउन सोमबार र मंगलबार दिनभर प्रयास गरेको थियो। दुईदिनसम्मको प्रयासले पनि दुईतर्फी सञ्चालन गर्न नसकिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। उक्त सडकलाई दुईतर्फी सञ्चालन गर्न कम्तिमा पनि बुधबार दिनभरी लाग्न सक्ने उनको भनाइ छ।
बाटो एकतर्फी खुलाए पनि आँबुखैरेनी र मौवाखोलामा पहिरोका कारण सडक अवरुद्ध भएपछि पोखरा र काठमाडौँ जाने सवारीसाधन अझै पनि बाटौमै रोकिएका छन्। जसकारण अहिले मुग्लिनबाट भरतपुरतर्फ आउने सवारीसाधनलाई मात्रै प्रवेश दिइएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए। नारायणगढ–मुग्लिन सडक खण्डको पाँच किलो, सत्र किलो र जलवीरेमा पनि एकतर्फी रुपमा मात्रै सञ्चालनमा रहेको उनले बताए।
चारकिलोमा खसेको पहिरो हटाएर एकतर्फी सवारी सञ्चालन गरिसकेकोले अहिले पृथ्वी राजमार्गको केबुलकार, चुम्लिङ्गटार र फिस्लिङ्ग नजिकै खसेको पहिरो फाल्ने क्रम चलिरहेको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए। मंगलबार साँझसम्ममा चितवन जिल्लाभित्र पर्ने राजमार्ग सुचारु गर्ने लक्ष्यसहित सडक डिभिजन भरतपुरबाट चितवन जिल्लाभित्र पर्ने सडकमा मात्रै ५ वटा लोडर, ६ वटा ब्याकहु र एउटा एक्साभेटर प्रयोग गरेर राजमार्ग सुचारु गराउने प्रयास गरिरहेको उनले बताए।


























