काठमाडौं, साउन ५ । नेपाल एयरलाइन्सले कर्मचारी कटौति गरेको छ। आर्थिक वर्ष २०७६/०७७ मा निगममा जम्मा १ हजार ४९१ जना कर्मचारी रहेकोमा ४ सय ७८ जना करार सेवामा थिए। जसमध्ये एयरलाइन्सले १ सय ४५ जना कर्मचारीको करार सम्झौता नगर्ने निर्णय गरेको हो।
नेपाल एयरलाइन्समा सामान्य सेवा विभागमा १ सय ५५ जना, बिमान मर्मतमा १ सय ९ जना, सामान्य प्राविधिक ३४ जना र उडान सञ्चालनमा १ सय ८० जना कर्मचारी कार्यरत थिए।
एयरलाइन्सका अनुसार ग्राउण्ड ह्याण्डलिङबाट हुने आफ्नो आम्दानीको मूख्य स्रोतको ९० प्रतिशत घटेको छ। जसकारण खर्च कटौती गर्नका लागी करार अवधि समाप्त भएका कर्मचारीको करार सम्झौता नविकरण नगरिएको निगमले जनाएको छ।
एयरलाइन्सका अनुसार १ सय ४५ जनाको करार सम्झौता नविकरण नगर्दा निगमको खर्च ५ करोड रुपैयाँ जोगिने छ। असार मसान्तमा करार अवधि सकिएका २ सय २५ कर्मचारीमध्ये निगमले ८० जनाको मात्र नविकरण गरेको छ।


























