साउन ४ । एफ ‘ए’ कप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (आइतबार) हुँदैछ।
एफए कपको दोस्रो सेमिफाइनलमा दुई ठुला क्लब चेल्सी र म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।
चेल्सी र युनाइटेडबीचको खेल नेपाली समय अनुसार राति पौने ११ बजे सुरु हुनेछ। वेम्बली स्टेडियममा दुवै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन्।
चेल्सी र युनाइटेडबीचको विजेताले उपाधिका लागि आर्सनलसँग खेल्नेछ। पहिलो सेमिफाइनलमा आर्सनलले म्यानचेस्टर सिटीलाई २-० ले हराएर उपाधि नजिक पुगिसकेको छ।
पछिल्लो समय चेल्सी र युनाइटेडले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। जसको कारण दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ।
चेल्सीविरुद्ध युनाइटेडका डिफेन्डर लुक श खेल्ने छैनन्। लेफ्ट ब्याक शले एन्कलको चोट बोकेका छन्। यस्तै चेल्सीका मिडफिल्डर एनुगालो कान्टेले युनाइटेडसँगको खेल गुमाउने छन्।
चेल्सीले क्वाटरफाइनलमा लेष्टर सिटीलाई १-० ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो। युनाइटेडले क्वाटरफाइनलमा नर्विचलाई २-१ ले हराएर अन्तिम चारको यात्रा तय गरेको हो। एजेन्सी


























