काठमाडौं, साउन २ । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना महामारीको बेला सञ्चारकर्मीलाई उचित पारिश्रमिक दिन र रोजगारीको हक सुनिश्चित गर्न माग गरेको छ।
आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै महामारीको असहज परिस्थितिमा जोखिममा रही सूचना सम्प्रेषणमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका पत्रकारको श्रमको सम्मान गर्न र रोजगारीबाट नहटाउन सञ्चार प्रतिष्ठान र नेपाल सरकारलाई आग्रह गरेको हो।
कोरोना महामारी र लकडाउनको अवस्थामा केही सञ्चारगृहले लामो समयदेखि कार्यरत सञ्चारकर्मीलाई पारिश्रमिकसमेत नदिई, जिम्मेवारीबाट हटाई, विनाकारण अति दुर्गम स्थानमा सरुवा गरी मानसिकरुपमा तनावसमेत दिएको भनी उजुरी परेको आयोगले जनाएको छ।
काठमाडौं उपत्यकालगायत विभिन्न जिल्ला सदरमुकामहरुबाट दुईहजार भन्दा बढी श्रमजीवी पत्रकार पेसाबाट पलायन हुनुपरेको नेपाल पत्रकार महासंघले जानकारी गराएको पनि आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ।


























