काठमाडौं, साउन २ । आउँदो सोमबारदेखि पाँच दिन देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भू–भाग गलिसकेकाले अब पाँच दिन पर्ने पानीले पहिरोको सम्भावना बढेको विभागले जनाएको छ।
मनसुन सुरु भएयता देशका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ।
प्रदेश नम्बर–१, प्रदेश नम्बर–२, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर–५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागद्वारा शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागको भनाइ छ।
नेपालमा मनसुन सुरु भएदेखि हालसम्म मनसुनजन्य विपद्का घटनाबाट ११० जनाको मृत्यु भएको छ।
विभिन्न ठाउँमा गएको बाढी–पहिरो, चट्याङ, सर्पदंशलगायतका मनसुनजन्य घटनाबाट ११० जनाको मृत्यु भएको जनाइएको छ।
अझै ३२ जना बेपत्ता रहेका छन् भने १३२ जना घाइते छन्। विपद्बाट ४१८ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।
पहिरोका कारणमात्रै ८१ जनाको मृत्यु भएको छ। चट्याङबाट १७, सर्पदंशले १० र बाढीका कारण दुईजनाको मृत्यु भएको छ।
देशका विभिन्न ३३ जिल्लामा विपद्बाट मानवीय क्षति भएको छ भने ६० जिल्लामा विपद्का घटना घटेका छन्।


























