चीन, साउन १। कोरोना भाइरसको महामारीका कारण शिथिल बनेको चिनियाँ अर्थतन्त्रमा पुनः सुधारोन्मुख देखिएको छ।
यस वर्ष (सन् २०२०) को दोस्रो त्रैमासमा चीनको अर्थतन्त्र ३.२ प्रतिशतले वृद्धि भएको हो।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमा कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण वर्षको सुरूआती तीन महिना तीव्र गिरावट देखिएको थियो।
तर, बुधबार सार्वजनिक दोस्रो त्रैमास (अप्रिल/जुन) को प्रतिवेदनमा चीनको कूल गार्हस्थ उत्पादन (जीडीपी) पुनारावृत्ति भएको देखिएको छ।
चीनले आफ्नो अर्थव्यवस्था पुनः सुचारू गरेपछि विश्वले नै नजिकबाट नियालीरहेको छ।
दोस्रो त्रैमासमा देखिएको वृद्धि विज्ञहरूले आकलन गरेभन्दा राम्रो भएको बताइएको छ। विज्ञहरूले तीव्र गिरावटपछि ‘भी’ आकारको पुनरावृत्ति आकलन गरेका थिए।
यसको अर्थ चीनले लगातार दुईवटा त्रैमासमा शून्यभन्दा तल जानसक्ने प्राविधिक मन्दीबाट पनि आफ्नो अर्थतन्त्रलाई जोगाएको छ।
पछिल्लो वृद्धिले पहिलो त्रैमासमा बेहोरेको ६.८ प्रतिशतको गिरावट पूर्ति गर्नसमेत सहयोग पुगेको जनाइएको छ। पहिलो त्रैमासमा भएको उक्त संकुचन ऐतिहासिक थियो।
चीनले भाइरसको फैलावट रोक्नका लागि उक्त अवधिमा अपनाएको कडा नीतिअन्तर्गत सबैखाले व्यवसाय पूर्ण रूपमा बन्द गराएको थियो।
चीन सरकारले अहिले अर्थव्यवस्था अभिवृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यले कर छुटलगायत विभिन्न योजना अघि सारेको छ। बीबीसी


























