काठमाडौं, साउन १ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले यातायात व्यवसायी र मजदूरको माग पुरा गर्ने बताएका छन्।
बिहिबार यातायात क्षेत्रका समस्या एवं विभिन्न मागहरु लिएर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका चारवटा संगठनका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले सरकारको क्षमता र गच्छेअनुसार यातायात व्यवसायी एवं यस क्षेत्रका मजदुरहरुको माग पूरा गर्ने आश्वासन दिएका हुन्।
भेटमा उनले सरकारले आफ्नो गच्छेअनुसार व्यवसायी र मजदुरका माग पूरा गर्ने भन्दै ढुक्क रहन आश्वासन दिए।
प्रधानमन्त्रीसँगको भेटमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातयाता मजदुर संघका अध्यक्ष रामचन्द्र कार्कीलगायतको उपस्थिति थियो।


























