चितवन, असार ३१ । पूर्वी चितवनमा रहेको राप्ती नगरपालिकाले विपन्न परिवारका लागि घर निर्माणको काम सुरु गरेको छ। नगरपालिकाको खरका छाना विस्थापित गर्ने योजनाअनुसार नगरपालिकाका प्रत्येक वडामा दुई–दुईवटा घर निर्माण गर्न सुरु गरिएको हो।
नगरपालिका प्रमुख प्रभा बरालका अनुसार हरेक वर्ष विपन्न परिवारमध्ये अति विपन्न छनोट गरी दुई परिवारको घर निर्माण गरिनेछ। नगरपालिकाको रु तीन लाख सहयोग र स्थानीयवासीको श्रमदानमा दुईकोठे घर निर्माण गरी हस्तान्तरण गरिने उनले बताइन्। नगरभित्र रहेका एकल महिला, वृद्धवृद्धालाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।
नगरपालिकामा १३ वटा वडा रहेका छन्। जसमध्ये १, २, ४, ५, ७, ८, ९, ११ र १२ वडामा पहिलो चरणका घरहरु हस्तान्तरण गरी सकिएको प्रमुख बरालले जानकारी दिइन्। अन्य वडाहरुमा निर्माणको काम भइरहेको उनले बताइन्।
आयुर्वेद उपचारको ज्ञान जगाउन आवश्यक
उपचार प्रभावकारी हुने भए पनि आयुर्वेदतर्फ खासै ध्यान जान नसकेको धारणा यहाँ आयोजित कार्यक्रमका वक्ताले राखेका छन्। एलोपेथिक औषधिले मात्रै रोग निको हुने भन्दै आयुर्वेद चासोमा नपरेको हो। तर आयुर्वेद उपचारमार्फत पनि रोग निको हुने भएकाले यसको प्रचार–प्रसार गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनले आयोजना गरेको ‘आयुर्वेदको विकास सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा वाग्मती प्रदेशसभाका शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति घनश्याम दाहाल, प्रदेशसभा सदस्य विजय सुवेदी र रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले आयुर्वेद उपचारमा चेतना जगाउनु आवश्यक रहेको बताए। कृत्रिम औषधिले स्वास्थ्यमा असर गर्ने भएकाले यहाँका महत्वपूर्ण जडीबुटीको प्रयोग गर्दै प्रचारप्रसार गर्नुपर्ने उनीहरुको भनाइ थियो।
कार्यक्रममा जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर कोपिला अधिकारीले केन्द्रमा दैनिक ८०–९० जना बिरामी उपचारका लागि आउने गरे पनि भौतिक संरचना, पर्याप्त दरबन्दी हुन नसकेको बताए। प्रयोगशाला र एक्स¬रे मेशिनसमेत नहुँदा बिरामीलाई समस्या पर्ने गरेको अधिकारीले भनाइ छ। सो केन्द्रमा अम्लपित्त, कब्जियत, अतिसार, मधुमेह, उच्च रक्तचाप, स्त्रीरोग, दम खोकी, श्वासप्रश्वाससम्बन्धी उपचार हुँदै आएको छ। रासस


























