असार ३१ । मारियो पसालिकको ह्याट्रिकको सहयोगमा एटलान्टा सिरि ए फुटबलको दोस्रो स्थानमा उक्लिएको छ।
मंगलबार राति ब्रेसियामाथि ६–२ को प्रभावशाली जित निकाल्दै एटलान्टाले लिगको दोस्रो स्थानमा उक्लिएको हो।
एटलान्टाले शीर्ष स्थानको युभेन्ट्ससंगको दुरी ६ अंकमा झारेको छ।
रेलिगेशनबाट बच्न संघर्षरत ब्रेसियामाथि लण्डन क्लब चेल्सीका पूर्व खेलाडी पसालिकले ह्याट्रिक पुरा गरे।
दोस्रो मिनेटमै उनले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पाहुना टोली ब्रेसियाका अर्नेस्टो टोरेग्रोसाले खेल बराबरीमा ल्याए।
मार्टन डी रुनले २५ औं मिनेटमा पुन एटलान्टालाई २–१ को अग्रता दिलाए। त्यसपछि घरेलु टोलीले लगातार चार गोल गर्यो।
पसालिकले दुई तथा रुस्लान मालिनोवस्की र डुवन जपताले एक–एक गोल गरे। खेल सकिन ७ मिनेट बाँकी रहदाँ निकोलस स्पेलक्सले पाहुना टोलीकालागि दोस्रो गोल फर्काएका थिए।
लिगको दोस्रो स्थानमा उक्लिएको एटलान्टाले ७० अंक जोडेको छ। उसले तेस्रो स्थानको ईन्टर मिलान र चौथो स्थानको लाजियोसंग २ अंकको अग्रता लिएको छ।
रेलिगेशन जोनबाट बच्न संघर्षरत ब्रेसिया २१ अंक जोडेर तालिकाको पुछारदेखि दोस्रो स्थानमा छ। एजेन्सी


























