असार ३० । ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले साउथह्याम्पटनसंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।
घरेलु मैदानमा पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा युनाईटेडले बराबरी खेल्दै अंक बाँड्न परेको हो।
युनाईटेडले घरेलु मैदानमा जित निकाल्दै तालिकाको तेस्रो स्थानमा उक्लिने मौका थियो।
लण्डन क्लब चेल्सी र लेस्टर सिटीले पछिल्लो समय अंक गुमाईरहेको अवस्थामा युनाईटेडलाई च्याम्पियन्स लिग छनोटको दौडमा अघि बढ्ने अवसर थियो। तर युनाईटेडले शीर्ष तीनमा उक्लिने अवसर गुमाएको छ।
स्टुआर्ट आर्मस्ट्रङको गोलमा साउथह्याम्पटले खेलमा सुरुवाती अग्रता बनाएको थियो। मार्कुस रासफोर्डले २० औं मिनेटमा खेल बराबरीमा फर्काए।
त्यसको तीन मिनेटपछि एन्थोनी मार्टियलले गोल गर्दै घरेलु टोली युनाईटेडलाई खेलमा २–१ को अग्रता दिलाए। दोस्रो हाफको ईन्जुरी समयमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मिकेल ओबाफिमीले गोल गर्दै साउथह्याम्पटनलाई अंक दिलाउन सफल रहे।
पाँचौ स्थानको युनाईटेडले ५९ अंक जोडेको छ। समान अंक भएपनि लेस्टर गोल अन्तरका आधारमा चौथो स्थानमा छ। साउथह्याम्टन ४५ अंक सहित १२ औं स्थानमा यथावत छ। एजेन्सी


























