जनकपुरधाम, असार २९ । प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेट बहुमतबाट पारित भएको छ। मत विभाजन प्रक्रियामार्फत् एक महिनापछि बजेट पारित भएको हो।
यसअघि सर्वसम्मतले पारित हुँदै आएको प्रदेश २ को बजेट यसपटक भने मत विभाजन प्रक्रियाबाट बहुमतले पारित भएको हो।
गत असार १ गते प्रदेश सरकारले रु ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट प्रस्तुत गरेको थियो। बजेटमा अनुत्पादक खर्च बढी राखिएको भन्दै प्रतिपक्षी दलले पारित गराउन साथ दिएका थिएनन्।
सर्वसम्मतले बजेट पारित नभएपछि मत विभाजन अर्थात् पारितको पक्षमा र विपक्षमा रहेका सांसदलाई सभामुख सरोज यादवले उभिन लगाएका थिए।
प्रदेशका कुल १ सय ७ सांसदहरुमध्ये प्रदेश सभाको बैठकमा उपस्थित ८० जनामध्ये ४८ जना बजेटको पक्षमा र अन्य विपक्षमा उभिएका थिए।
प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको रु ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट चालु आर्थिक वर्ष २०७६/७७ भन्दा ५ अर्ब १६ करोड ९० लाख कम हो।
चालु आर्थिक वर्षमा प्रदेश २ सरकारले रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो। जसमा चालुतर्फ रु १९ अर्ब ११ करोड, ९७ लाख ३८ हजार र पुँजीगततर्फ रु १९ अर्ब २६ करोड, ५४ लाख ६४ हजार राखिएको थियो।
तर बजेटमाथिको छलफलमा सहभागी हुँदै प्रतिपक्षीले कोरोना महामारीको समयमा पनि सरकारले अनुत्पादक शीर्षकमा बढी बजेट राखेको र मन्त्रीहरुले आफ्नो क्षेत्रमा बढी बजेट लगेको भन्दै विपक्षीले विरोध जनाएका थिए।


























