काठमाडौं, असार २९ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले असार २८ गते आईतबारका दिन कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभामा कम्पनीका अध्यक्ष ताराचन्द केडियाले आ.व.२०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेका थिए।
सो सभाले सञ्चालक समितिको आ.व. २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७५/७६ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु, कम्पनीको आ.व.२०७६/०७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको परिश्रमिक निर्धारण, संचालक समितिको अध्यक्ष र संचालकहरुको बैठक भत्ता एवं अन्य सुविधाहरु निर्धारण गर्ने सामान्य प्रस्तावहरु पारित गरेको छ। कम्पनीका संचालकहरुमा भरत कुमार तोदी, जगदीश कुमार अग्रवाल, अमित कुमार बेगानी तथा सुन्दर प्रसाद कडेल रहेका छन्।
साथै, सो सभाले कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा कम्पनीले सामूहिक लगानी कोष स्थापना गर्ने उद्देश्य थप, कम्पनीको प्रबन्धपत्रमा गरिएको उद्देश्य थप एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु पारित गरेको छ।
कम्पनीले २०७४ मंसिर १ गतेदेखि विधिवत् रुपमा जीवन बीमा सम्बन्धि सेवाहरु प्रदान गर्दै हाल १०० वटा शाखा/उपशाखा कार्यालयहरुबाट आफ्नो कार्य संचालन गरिरहेको छ। कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। उक्त जारी पुँजीको ३० प्रतिशतको हुन आउने रकम ६३ करोड रुपैयाँ बराबरको सेयर कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेको छ।


























