काठमाडौं, असार २८ । मनसुन सुरू भएको एक महिनामा बाढीपहिरो, चट्याङ लगायतका विपद्का घटनामा १०७ जनाको मृत्यु भएको छ।
गएको जुन १२ अर्थात जेठ ३० गते पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन लगातार सक्रिय रहँदा देशभर बाढी, पहिरो र चट्याङले मात्रै ९५ जनाको मृत्यु भएको छ।
यस बाहेक ९ जनाको सर्पले डसेर मृत्यु भएको छ भने ३ जनाको आगोलेa जलेर मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
सबैभन्दा धेरै पहिरोका कारण देशभर पछिल्लो एक महिनामा ७६ जनाको मृत्यु भएको छ। त्यसमध्ये ३९ जनाको यसै साता गएका पहिरोमा मृत्यु भएको हो।
यस्तै चट्याङ लागेर १७ जनाको मृत्यु भएको भने बाढीले बगाउँदा २ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार एक महिनाभित्र पहिरोले देशभर २२९ परिवार प्रभावित भएका छन् भने बाढीले ८२ परिवार प्रभावित भएका छन्।


























