काठमाडौं, असार २७ । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको पहिरोमा बेपत्ताको खोजी र उद्धारमा कठिनाइ भएको छ। प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण सुरक्षाकर्मी पुग्न नसक्दा शुक्रबार बिहान पहिरो गएको ठाउँमा उद्धार र खोजीमा ढिलाइ भएको हो।
मालिका गाउँपालिका–७ बिमको तल्लोगाउँ, नौरु र दुलेमा शनिबार बिहान आएका सेना, शसस्त्र र प्रहरीको टोलीले वेपत्ताहरुको खोजी कार्य सुरु गरेको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत वेपत्ताको खोजी र उद्धारका लागि शनिबार बिहान सुरक्षाकर्मी घटनास्थल पुगेका सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले काठमाडौंपाटीलाई जानकारी दिए।
‘बिममा गएको पहिरोमा उद्धार टोली पुगिसकेको छ, मराङमा सडक र घोरेटोबाटो पहिरोले भत्काएकाले सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न सकेका छैनन्, उनले भने, ‘बिमबाट मराङ घटनास्थलमा पुग्न कठिनाई भइरहेकाले कसरी जाने भन्ने तयारी भइरहेका छ।’
शुक्रबार दुई पटक घटनास्थलतर्फ गएको हेलिकप्टर मौसमको खराबीका कारण भिजिबिलिटी नभएर फिर्ता भएको थियो। पहिरोमा हराइरहेकामध्ये १२ जनाको शव भेटिएको छ। २३ जना अझै बेपत्ता छन्।
मराङमा एक सुत्केरी महिलासहित ८ जनालाई तत्काल उद्धार गर्नुपर्ने देखिएको छ भने ५ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ। चारैतिर पहिरोले घेरिएको कल्लेनीका ५० जनाभन्दा बढीलाई गाउँपालिकाको अगुवाइमा उद्धार गरेर धारापानी र ताकम लगिएको छ। घण्टीवाङका पहिरोपीडित १३ परिवार आरवाङको जनविकास आधारभूत विद्यालयको भवनमा आएर बसेका छन्।
गए राति वर्षा नभएको र बिहानसम्म बादल लागेको स्थानीयवासीले बताएका छन्। रघुगङ्गा–३ राहुघाटका करिब २५ घर विस्थापित भएका छन्। राहुघाटमा पाइप बगाएपछि सदरमुकाम बेनी बजारमा पुम्दीखोलाको पानी आपूर्ति बन्द भएको छ।


























