काठमाडौं, असार २७ । काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएका एक जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।
गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको थियो। असार २६ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको केएमसी अस्पतालका निर्देशक डा. मुकुन्द राज जोशीले जानकारी दिएका छन्।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ। ती पुरुष मिर्गौलाको बिरामी थिए। स्वास्थ्यमा समस्या आएपछि उनलाई यही असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। तर, आइसीयू खाली नभएपछि उनलाई केएमसी रिफर गरिएको थियो। श्वासप्रश्वासको समेत समस्या भएकाले केएमसीको भेन्टिलेटरमा राखेर उनको उपचार सुरु गरिएको थियो।
कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन २१ गते उनको स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। तर, रिपोर्ट नआउँदै २५ गते उनको मृत्यु भयो। मृत्यु भएको भोलिपल्ट आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको छ। नेपाली सेनाको टोलीले शनिबार विहान उनको शव व्यवस्थापन गरेको छ।


























