काठमाडौं, असार २७ । बाढी र पहिरोको कारण देशका विभिन्न जिल्लामा सडक अवरुद्ध भएको छ।
कतिपठ ठाउँमा हिजोअस्तीदेखि नै सडक अबरुद्ध छन् भने केही ठाउँमा गएराति र आज बिहानबाट सडक अवरुद्ध भएका छन्।
बाढीका कारण नवलपरासी, सिन्धुली, मकवानपुर, दैलेख, सिन्धुपाल्चोक, म्याग्दी लगायतका जिल्लामा सडक अवरुद्ध भएका छन्।
नवलपरासी पूर्वमा सडक बाढीले बगाउँदा शनिबार बिहानदेखि पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध भएको छ। पूर्वी नवलपरासीको गैँडाकोटमा बाढीले डाइभर्सन बगाउँदा शनिबार बिहान चार बजेदेखि पूर्वपश्चिम राजमार्गको नवलपरासी खण्ड भएर गाडी चल्न सकेका छैनन्।
गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित जयश्री पुल नजिक खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको नवलपरासी पूर्वका प्रहरी प्रमुख एसपी दीपक रेग्मीले जानकारी दिए।
‘लगातारको वर्षापछि ठूलो बाढी आयो, कल्भर्टमा राखिएको ह्युम पाइपमा पानी नअटेपछि कल्भर्ट बाढीले बगायो,’ एसपी रेग्मीले नेपालखबरसँग भने, ‘कल्भर्ट बगेकाले शनिबार बिहान चारबजेदेखि सडक अवरुद्ध छ। दुबै तर्फका सबारी साधन रोकिएका छन्। बगेको कल्भर्ट पुनः बनाएर सडक सुचारु गर्ने प्रयास हुँदैछ।’

त्यसैगरी पहिरोको कारण पूर्वी तराईलाई राजधानी काठमाडौंसँग जोड्ने छोटो सडक बिपी राजमार्ग पनि शनिबार बिहानैदेखि अवरुद्ध छ। बिपी राजमार्गमा पर्ने सिन्धुलीको सुनकोशी गाउँपालिका २ कमेरेफाँटमा शनिबार बिहान साढे चार बजे पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
कमेरेफाँटमा शुक्रबार पनि लेदोसहितको माटो सडकमा थुप्रिँदा सडक अवरुद्ध भएको थियो। त्यहाँ आज पनि लेदोसहितको माटोले सडक अवरुद्ध भएको हो। जेसिभी प्रयोग गरेर सडकको लेदो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
बिपी राजमार्गमा पर्ने सिन्धुलीको सुनकोसी, खुर्कोट, काभ्रेको रोशी, नमोबुद्ध लगायतका ठाउँमा पनि ठाउँठाउँमा पहिरो खसेको छ।
त्यसैगरी ठाउँठाउँमा पहिरो खस्दा बल्खु कुलेखानी हेटौंडा सडक पनि विगत चार दिनदेखि अवरुद्ध छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ र ज्यामिरेमा ठूलो पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
यो सडकको भिमफेदी कुलेखानी खण्ड बिस्तारको क्रममा छ। बिगत चार महिना अघिदेखि नै यो सडक बिस्तारको काम भइरहेको छ। सडक बिस्तार गर्ने क्रममा ठाउँठाउँमा पहरो काटिएकाले सानो पानी पर्दा पनि यो सडक खण्डमा पहिरो जाने क्रम बढेको छ।
यसैगरी कर्णाली राजमार्ग पनि बाढीपहिरोको कारण ठाउँठाउँमा अवरुद्ध भएको छ। दैलेखको गुराँस गाउँपालिका १ मा शनिबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
अविरल वर्षापछि पहिरो जाँदा बेनी जोमसोम सडकखण्ड पनि अवरुद्ध छ। यो सडकखण्डको म्याग्दी र मुस्ताङका विभिन्न ठाउँमा पहिरो खसेको सडक आयोजनाले जनाएको छ।
त्यसैगरी २३ असारमा आएको बाढीपहिरोले अवरुद्ध भएको सिन्धुपाल्चोकको अरनिको राजमार्ग अझै सञ्चालनमा आएको छैन।
बाह्रबिसे नगरपालिका र बलेफी गाउँपालिकामा बाढीले सडकको ठूलो खण्ड बगाएकाले विगत चार दिनदेखि यो सडकमा गाडी चल्न सकेका छैनन्।
यो सडकको जुरेदेखि तातोपानीसम्म सडक अहिले अबरुद्ध छ। बाह्रबिसेमा चार दिनअघि बाढीले बगाएर बेपत्ता भएका २० जनाको अवस्था अझै अज्ञात छ।


























