चितवन, असार २७ । चितवनको माडीमा बाढीले बगाउँदा शनिबार बिहान एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीय पुरुषको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ।
दुई दिनदेखिको वर्षाले स्थानीय रिमाल खोलामा आउको बाढीले उनलाई बगाएको अनुमान गरिएको प्रहरीले जनाएको छ। खोलाले बगाएर ल्याएको अवस्थामा माडी नगरपालिका-७ हरिनगरमा तीन पुरुषको शव भेटिएको हो।
यस्तै भरतपुर महानगरपालिका-२७ दिव्यनगरमा नारायणी नदीले पाँच मिटर ड्याम भत्काएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पानीको बहाब बढ्न थालेसँगै शुक्रबार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले लगाएको ड्याम नदीले बगाएको हो।
अब सात मिटर ड्याममध्ये दुई मिटरमात्र बाँकी रहेको प्रहरीले जनाएको छ।
यता वर्षाका कारण भरतपुर महानगरपालिका-११ भोजाडमा रुखले घर थिचेको छ। जसका कारण घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। त्यसैगरी यज्ञपुरीमा पनि रुख ढलेर घरमाथि परेको र पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए। रासस


























