असार २७ । विश्वकै लागि अक्सिजनको प्रमुख स्रोतका रुपमा रहेको ब्राजिलको अमेजन जंगलमा फडानी कोरोना भाइरसको महामारीको समयमा पनि रोकिएको छैन, बरु अझ तीव्र भएको छ।
सरकारी तथ्यांक अनुसार यो वर्षको जुन महिनामा गएको वर्षको सोही अवधिको तुलनामा १० प्रतिशत भन्दा बढी वन फडानी भएको छ।
ब्राजिलको नेशनल इन्स्टिच्यूड फर स्पेस रिसर्च (आइएनपिई) ले शुक्रबार जारी गरेको तथ्यांक अनुसार जुनमा एक हजार ३४.४ स्क्वायर किलोमिटर वन क्षेत्र विनास भएको छ। यो सन् २०१९ को जुन महिनामा भएको फडानी भन्दा १०.६ प्रतिशत बढी हो भने यो वर्षको मे महिनाको भन्दा २४.३१ प्रतिशत बढी हो।
गएको जुन महिनामा डढेलोका २२ सय ४८ घटना भएका छन्, यो पछिल्लो १३ वर्षमा जुन महिनामा भएको अहिलेसम्मकै धेरै आगलागीका घटना हुन्।
यो वर्षको पहिलो ६ महिनामा अमेजन जंगलको तीन हजार ६९.५७ स्क्वायर किलोमिटर क्षेत्र विनास भएको छ, जुन गएको वर्षको सोही अवधिको तुलनामा २५ प्रतिशत बढी हो।


























