चितवन, असार २७ । लगातारको वर्षाका कारण नारायणी नदीमा आएको बाढी गाउँ पस्ने खतरा बढेका कारण चितवनको भरतपुर महानगरपालिका–२८ का सातवटा गाउँ जोखिममा परेका छन्।
नारायणी नदीको बाढी छेक्न तथा कटान रोक्नका लागि बनाइएको तटबन्धको अधिकांश भाग बाढीले बगाउँमा जोखिम बढेको हो।
तटबन्धको डेढ मिटर मात्रै बाँकी रहेको र नदीमा बहाव उच्च भएकाले त्यो पनि बगाउने खतरा रहेको वडानम्बर २८ का अध्यक्ष आशबहादुर कुमालले जानकारी दिए।
उनले भने, ‘हिजो बगाएको क्षेत्रमा नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले बोरामा माटो तथा बालुवा राखेर अस्थायी तटबन्ध बनाउने प्रयास गरेका थिए। रुखहरु पनि राखिएको छ। तर बाढी उच्च रहेकाले नदीको पानी गाउँ पस्ने जोखिम उच्च रहेको छ। मैले महानगर र जिल्लामा जानकारी गराएको छु। तत्काल केही गरिएन भने कम्तिमा सातवटा गाउँ डुबानमा पर्ने छन्।’
सालबास, पञ्जना, सिसाबास, पर्साबजार, योगी टोल, लौखोरी, गोलाघाट बाढीको जोखिममा रहेको उनले बताए।


























