असार २६ । भारतको कानपुरमा प्रहरी इन्काउन्टरमा गुण्डा नाइके विकास दुबेको मृत्यु भएको छ।
उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले दुबेलाई उज्जैनबाट सडकमार्ग हुँदै कानपुर लगिरहेका बेला सवारी दुर्घटना भएको थियो।
दुर्घटनापछि हतियार खोसेर भाग्ने प्रयास गरेका दुबेको प्रहरी कारबाहीमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रहरीका अनुसार गाडी दुर्घटनामा केही प्रहरी घाइते भएका छन्। दुबेले घाइते प्रहरीको हतियार खोसेर भाग्न खोजेका थिए।
त्यस क्रममा प्रहरीले उनलाई घेरा हालेको थियो। आत्मसमर्पण गर्न आग्रह गरे पनि विकासले फायरिंग सुरु गरेको प्रहरीको दाबी छ। त्यसपछि प्रहरीले पनि फायरिंग गरेको र गोली लागेर गम्भीर घाइते भएका दुबेको मृत्यु भएको जनाइएको छ।
कानपुर आठ जना प्रहरीको हत्याका मुख्य अभियुक्त दुबेलाई बिहीबार प्रहरीले गिरफ्तार गरेको थियो। एजेन्सी
Facebook Comments


























