काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइतबार पनि नौवटा अन्तर्राष्ट्रिय उडान भएका छन्। यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र परेका ६०० भन्दा बढी नेपाली स्वदेश फर्किएको विमानस्थलले जनाएको छ। नेपाल एयरलाइन्सले कतारको दोहाबाट १४७ नेपाली काठमाडौँ ल्याएको छ। सोही एयरलाइन्स साउदी अरेबियाको दमाम, दुबई, बहराइनबाट नेपाल ल्याउन त्यसतर्फ प्रस्थान गरेको विमानस्थलले जनाएको छ।
हिमालय एयरलाइन्सले अबुधाबीबाट १४९ र दोहाबाट १५२ यात्रु ल्याएको छ। त्यस्तै जजीरा एयरले कुवेतबाट १६५ यात्रु ल्याएको छ। कुवेतबाट थप नेपाली ल्याउन हिमालयको जहाज त्यसतर्फ प्रस्थान गरेको छ। सोमबार पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका पाँच अन्तर्राष्ट्रिय उडान हुनेछन्। दमाम, बहराइन, अबुधाबी र क्वालालम्पुरबाट नेपाली ल्याउने विमानस्थलको तालिका रहेको छ।
आइतबार आन्तरिकतर्फ कैलाश हेलिकप्टरको विराटनगर र एयर डाइनेष्टीको सिन्धुली उडान भएको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। रासस


























