चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीकाे पक्षमा ओली निकटका विद्यार्थीहरुले शुक्रबार चितवनकाे भरतपुरस्थित चाैबीसकाेठीमा बृहत प्रदर्शन गरेकाे छ। सत्ताभित्रै पक्ष विपक्ष भएपछि स्थायी सरकार गिराउन नहुने मागसहित माैन प्रदर्शन गरिएकाे हाे। ओली समर्थित विद्यार्थीहरुले करिब एक घण्टा ओलीकाे पक्षमा समर्थन गरिएका प्लेकार्ड र ब्यानर बाेकेर चाैबीसकाेठी चाेकमा उभिएर प्रदर्शन गरेका हुन्।
चाैबीसकाेठी चाेकबाट पश्चिमतर्फ एकतर्फी उभिएकाे प्रदर्शनकाे लाइन चितवन मेडिकल कलेज अगाडिसम्म पुगेकाे थियाे। विद्यार्थी, शिक्षक, व्यवसायी, उद्याेगीलगायतकाे उपस्थिति रहेकाे प्रदर्शनबाट केन्द्रीय तहका नेताहरुलाई खबरदारी गर्ने काम भएकाे अनेरास्ववियु चितवनका संयाेजक प्रकाश आचार्यले बताए।

पार्टीभित्रै पक्ष–विपक्ष हुँदा दुई तिहाइकाे बहुमत पाएकाे सरकारलाई काम गर्न गाह्राे भएकाेले ओली सरकारलाई आफ्नाे कार्यकालभरि ढुक्कसँग काम गर्न दिन पार्टीका शीर्षनेताहरुलाई उनले आग्रह गरे। प्रमुख प्रतिपक्षी दल चुप लागेर बस्दा पनि पार्टीभित्रकै आन्तरिक किचलाेका कारण ओली सरकारलाई काम गर्न अप्ठ्याराे परेकाे छ।


























