असार १९ । फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपले राजीनामा दिएका छन्। शुक्रबार सार्वजनिक गरिएको एक विज्ञप्तिअनुसार एडुवार्डले राष्ट्रपति इम्यानुअल म्याक्रोँसमक्ष राजीनामा दिएका हुन्। राष्ट्रपतिले उनको राजीनामा स्वीकृत गरेको बताइएको छ।
राजीनामा दिए पनि के कारण राजीनामा दिइएको हो भन्नेबारेमा भने केही बताइएको छैन। यद्यपि राष्ट्रपति म्याक्रोँले आफ्नो कार्यकालको अन्तिम दुई वर्षको लागि अघि सारेको योजनाको कारण प्रधानमन्त्री र सरकारको राजीनामा आएको हुन सक्ने बताइएको छ।
राजीनामा दिए पनि नयाँ सरकार नबनुञ्जेलसम्म यो सरकारले नै आफ्नो काम गर्नेछ। यद्यपि राष्ट्रपतिले छिटै नै नयाँ सरकार बनाउन विश्वास लिइएको छ। यद्यपि राजीनामा दिएका प्रधानमन्त्री पुनः सोही पदमा दोहोरिन सक्ने बताइएको छ।
फ्रान्सका राष्ट्रपति म्याक्रोँ अबको २१ महिनापछि हुने राष्ट्रपतीय निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्न चाहन्छन्। तर, केही समयअघि भएको नगरस्तरीय निर्वाचनमा भने उनको पार्टीले पराजयको सामना गरिसकेको छ। त्यसले उनले अबको दुई वर्षका लागि नयाँ कार्ययोजना अघि सारेका हुन्। त्यसको लागि उनले नयाँ टिमसहित काम गर्ने योजना ल्याएको हुनसक्ने बताइएको छ। स्रोत: अलजजिरा


























