काठमाडौं, असार १९ । नेपाली चलचित्रका सफल संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा पोखरेल आज बैबाहिक जीवनमा बाँधिएका छन्। सरकारले बनाएको नियमलाई पालना गर्दै उनीहरुले आज बिहे गरेका हुन्।
काठमाण्डौको एक मन्दिरमा दुर्गा र अर्जुनले सिमित आफन्त र साथीभाइको उपस्थितीमा बिहे गरेका हुन्। अर्जुन र दुर्गा विगत ७ बर्षदेखि अनुराग संगीत विद्यालयमा एक साथ काम गर्दै आएका थिए। यी दुइले आफूहरु एक अर्काको जीवनसाथी बन्दा दुबैलाई राम्रो हुन्छ भन्ने महशुश भएपछि बिहे गर्ने निर्णय गरेका हुन्।
उसो त अर्जुनले वैशाखमा नै बिहे गर्ने सोच बनाएका थिए। तर, कोरोना भाइरसका कारण भएको लक डाउनका कारण अर्जुन र दुर्गाको बिहे वैशाखमा जुरेन। असारपछि बिहेको लगन एकैचोटी मंसिरमा भएकाले पनि उनीहरुले असारमै बिहे गर्ने निर्णय गरेका हुन्। पारिवारिक कारणले गर्दा पनि बिहेका लागि मंसिरसम्म कुर्न नसकिएको अर्जुनले जानकारी दिएका छन्।
अवस्था सामान्य भएपछि चलचित्रकर्मी र आफन्तका लागि बिहेको पार्टी दिने वा सामाजिक कार्य गर्ने भन्ने बिषयमा आफूहरुले छलफल गर्ने अर्जुनले बताए।
पछिल्लो केही बर्षयता नेपाली चलचित्रको संगीतमा अर्जुन सफल छन्। उनले तयार पारेका ‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, किस्मत २, क्याप्टेन’ लगायत चलचित्रका गीत सर्वाधिक सफल मानिन्छन्।
अर्जुनका धेरै गीतमा दुर्गा खरेलको आवाज समावेश छ। दुर्गा पनि सांगीतिक दुनियाँमा सफल गायिकाको रुपमा स्थापित छिन्। अर्जुन र दुर्गालाई बैबाहिक जीवनको शुभकामना।


























