संस्मरण
- मीरा रानाभाट
असार १४ गते आइतबार। अफिस पुग्ने बित्तिकै थाहा पाएको एउटा दुःखद खबर। नेपाली पत्रकारिता तथा कलाकारिता क्षेत्रको एक होनहार व्यक्ति कृष्णबाबु पाण्डेको मृत्यु। हुन त मैले उहाँलाई व्यक्तिगत रूपमा चिनेको थिइनँ। तर सवारी दुर्घटनामा मृत्यु भएको खबरले कताकता मनमा नमिठो अनुभूति दिलायो। फेसबुकमा शिरिष दाजुले लेख्नुभएको स्टाटसले म भावुक भएँ। दिनभर फेसबुकका भित्ताहरु भरिए, साथीभाइको यादगार पल र सम्झनासहितका श्रद्धाञ्जली शब्दहरुले। आफ्नो कर्म र पेसा मिल्ने भएर पनि होला, खै किनकिन नजिकको जस्तो लाग्यो। आखिर केही रै’नछ मान्छेको जीवन।
घटना–दुर्घटनाका धेरै समाचार तयार गरियो, पढियो। तर यो समाचारले अलि धेरै नै मनमा घर बनायो। जीवन सहज पाटोमा हुँदाहुँदै एक्कासी हुने परिवर्तन असह्य पनि हुन सक्दा रहेछन्।
कृष्ण जी तपाईंको दुःखद् मृत्यु असामान्य लाग्यो मलाई। सफलताका खुड्किला तर्दै गर्दा र खुसीका दिनहरु निम्त्याउँदै गर्दाको बीचमा एक्कासी सहयात्रीलाई एक्लो पारेर जानुभयो। हुन त यतिबेला सबैको नजर तपाईंको धर्मपत्नीप्रतिको सहानुभूतिमा छ, यसो भनिरहँदा तपाईंको घरपरिवारको क्षती र चोटलाई पनि सबैले महसुस गरेका छन्। सबैलाई चोट लागेको छ। ‘भगवानले राम्रै मान्छेलाई छिटो लान्छन्।’ यो भनाइलाई तपाईँको घटनाले सही मान्न बाध्य बनायो। हुन त जसले जति आयु लिएर आएको छ, त्यति नै बाँच्ने हो। तर, पनि कतिपय अल्पायु भने सहन नसकिने गरी गहिरो चोट दिएर जान्छन्, मैले केही समयदेखि महसुस गर्दै आएको कुरा हो।
कृष्ण जी तपाईंले धेरै शुभचिन्तक कमाउनुभएको रहेछ। त्यसैले फेसबुकका वाल र टिकटक भरिएका थिए, भावुकतासहितको श्रद्धाञ्जलीले। आफैँले अभिनय गरेका गीत र टिकटकको भाव जस्तै भयो जिन्दगी पनि। कृष्ण जी व्यक्तिगतरूपमा चिनजान नभए पनि यो घटनाले कतै आफ्नै जस्तो अनुभव गरायो। हजुरको स्वर्गमा बास होस्, हार्दिक श्रद्धाञ्जली! भाउजू अर्पिता आफूलाई सम्हाल्नुबाहेक अर्को विकल्प छैन। गर्भमा हुर्किरहेको सन्तान तपाईंको मन सम्हाल्ने बलियो आधार हुनेछ। बच्चाको स्वस्थतालाई ध्यान दिनकै लागि भए पनि तपाईंले हिम्मत गर्नुपर्ने छ।
चिन्दै नचिनेको मान्छेप्रति यति धेरै भावुकता किन आयो भनेर सोचें। तपाईंको दुर्घटनाको महिना, समय र परिस्थिति मिल्न गयो, बितिसकेको कहाली लाग्दो अर्को घटनासँग। महिना, गते र घटनाको समय रातको १२ बजे हुनुले मलाई झसङ्ग बनायो। आजभन्दा एकवर्ष अगाडि यही मौसम, यही महिना हो, दैवले हामीबाट एक असल व्यक्ति लिएर गएको। गते मात्रै १/२ दिनले फरक भयो, नत्र सबै घटनाको समय उस्तै। हामीलाई भीम दाइले छोडेर जानुभएको एकवर्ष पुग्यो। मलाई सम्झन पनि गाह्रो थियो, त्यो परिस्थिति। तर तपाईंको यो घटनाले मलाई एक्कासी त्यही समयमा पुर्याइदियो।
***
भीम दाइ तपाईं हाम्रो मनमा, सम्झनामा सधैँ हुनुहुन्छ।
मलाई त ‘संसारमा भगवान छैनन्, यी पूजापाठ सब बेकार हुन्’ जस्तो लाग्यो, जब म तपाईंलाई हेर्नकै लागि डराई–डराई भेन्टिलेटर कक्षमा गएको थिएँ। मभन्दा पहिले अरू पुगेर फर्किसकेका थिए। म त यसै कमजोर मन भएको मान्छे, झट्टै आँट गर्न पनि सकिनँ। तर, जब सुमनले अंगालो हालेर रूँदै भनी, ‘जा एकपल्ट हेरेर आइज, भोलि देख्न पनि पाइनँ भन्ने पछुतो हुन सक्छ, भिनाजुको अवस्था एकदमै नाजुक छ।’ बल्लतल्ल भित्र जाने आँट गरेँ।
झट्ट हेर्दा सास लिइरहेको जस्तो देखिने, त्योभन्दा अगाडि कहिल्यै त्यस्तो दृश्य नदेखेकी म, मलाई थाहा थिएन ‘त्यो जीवनको अन्तिम चरण हो, अनि त्यो सास कृत्रिम हो’ भनेर। मलाई त लागेको थियो, ‘ल दाइले सास फेरिरहनु भएको छ, ठीक भइहाल्छ नि। उपचार भैरहेको छ, यसै हरेस खानुहुँदैन।’ मन र मस्तष्कबीच धेरैबेरसम्म द्वन्द चलेको थियो, त्यो समयमा।
तपाईंको ‘मोटरसाइकल दुर्घटना भएर हस्पिटलमा हुनुहुन्छ रे’ भनेको सुन्नेबित्तिकै लागेको थियो, ‘लौ न कुन हात भाँचिएको होला, खुट्टा केही भएको छ कि छैन होला?’ तर जब साँझ अफिस सकाएर हस्पिटल पुगेँ, तपाईंलाई देख्न पाइनँ, किनकि भेट्ने समय सकिएको थियो। बाहिर सुशीला म्याडम, सावित्री आन्टीलगायत हुनुहुन्थ्यो। उहाँहरुले ‘हे भगवान केही नभए हुन्थ्यो, भगवान यस्तो पाप नगर’ भन्दै मलिनो पारामा रुँलाझैँ गरेर भगवान पुकारीरहनु भएको थियो। मैले ‘के भएको छ र दाइलाई’ भनेर सोधेँ। ‘स्थिति नाजुक छ, भगवान भरोसा हो, भनेका छन् डाक्टरले। अप्रेशन भएपछि थाहा हुन्छ रे कान्छी’ भन्नुभयो।
मैले आइसियूमा राखेर पनि उपचारपछि घर फर्किएको धेरै उदाहरण देखेकी थिएँ त्यसैले ‘ठीक भइहाल्छ नि’ भन्ने लागेको थियो मलाई। तर, ‘भेन्टिलेटरमा राख्ने अवस्थाका बिरामीलाई भने केही आस मारेरै उपचार गरिन्छ रे।’ मेरो पहिलो भोगाई थियो त्यो। दोस्रो दिन हस्पिटलमा सबैजना आइसक्नुभएको थियो। साइनोले सोल्टीनी भए पनि मेरी सहपाठी, मेरी अत्यन्तै नजिककी साथी, उसको हालत देखेर म आफैँलाई मन सम्हाल्न गाह्रो भएको थियो।
‘जिन्दगीमा जस्तोसुकै परिस्थितिको पनि सामना गर्नुपर्ने रहेछ भनेर’ गतिलो पाठ सिकायो त्यो घटनाले। सुमन, शारदासहितको टोली घर फर्किएपछि, बल्ल म डाँको छोडेर रून सकें। रूनको लागि सूर्य अंकलको काँध पाएको थिएँ। ‘अंकल भगवान् यति निष्ठुरी कसरी हुन सक्छ? अरूको लागि नभए पनि मेरो साथीको पेटमा हुर्किरहेको त्यो बच्चाको लागि भीम दाइले बाँच्नुपर्छ। भोलि उसले जन्मिएर बाबा खोई भन्दा के जवाफ दिने? कसरी भन्ने बाबु तिम्रो बाबाले हामीलाई छोडेर जाँदा तिमी आमाको गर्भमा मात्रै ६ महिनाको थियौ भनेर।’
अफिसको काम सकाएर साँझ म फेरि हस्पिटल गएँ भीम दाइलाई हेर्न र उहाँको अवस्था बुझ्न। तर, त्यही भेट हाम्रो लागि अन्तिम भयो। अबेरसम्म बसेर फर्कियौं। भोलिपल्ट बिहानै मामाको फोन आयो। शर्मिला दिदी र आमा मसँगै हुनुभएकोले मामाले ‘तिमीहरु माथि जाउ, गएर त्यहाँ सम्हाल अहिले कसैलाई केही नभन। भीम हामीमाझ रहनुभएन’ भन्नुभयो। भनिरहँदा मामाको आवाजमा गाँठो परेको थियो भने यता हाम्रो आँखाबाट आँसु बर्सिसकेका थिए। सबै भएको ठाउँमा पुग्दा कसैलाई केही थाहा थिएन। हामीले भन्ने आँट पनि गरेनौँ।
पछि शारदालाई चेकअपको लागि हस्पिटल लैजानुभयो, सुशीला म्याम र अस्मिता भाउजूले। बच्चाको अवस्था ‘ठीक छ, स्वस्थ छ’ भन्ने थाहा भयो। त्यति बेलासम्म अलिअलि शंकाले ममि अनि फूपूहरु रून शुरू गरिसक्नुभएको थियो। सुमनले मलाई बारम्बार सोधेकी थिई, ‘के भएको हो भन न’ भनेर। मैले सीधा भन्न सकिनँ, यति मात्रै भन्न सकेँ, ‘हामी मिलेर दिदीलाई सम्हाल्नुपर्छ तँ कमजोर नबन।’ त्यसपछिको परिस्थिति म शब्दमा बयान गर्न सक्दिनँ दाइ। सम्बन्ध र साइनोले जे भन्नुपर्ने भए पनि हामी दाइ भन्थ्यौं। किनकि हजुरले एउटा अभिभावकले जस्तै हाम्रो ख्याल राख्नुहुन्थ्यो, सम्झाउनुहुन्थ्यो। तर म यस्तो अभागी बहिनी भएँ जो प्रतिकूल परिस्थितिका कारण तपाईँको अन्तिम यात्रामा समेत सहभागी हुन सकिनँ।
मैले त्यतिबेला भगवानलाई धेरै गाली गरेँ। आँखा वरिपरि तपाईंको हँसिलो अनुहार आइरहन्छ। मलाई स्कुटी सिकाउने गुरु तपाइँ आँफैमा धेरै राम्रो मोटरसाइकल चलाउने मान्छे हुनुहुन्थ्यो। तर त्यही मोटरसाइकलले ‘ज्यान लियो’ भन्दा कति नमिठो लाग्यो दाइ। भलै आज तपाईँ भौतिकरूपमा हामीमाझ हुनुहुन्न। तर तपाईंले छोडेर जानुभएका अविस्मरणीय सम्झनाहरु हामीसँगै छन्।
ठीक एकवर्ष पुग्यो, तपाईँ टाढा हुनुभएको। अब त छोरो पनि १० महिनाको पुग्न लाग्यो। तपाईं जस्तै हँसिलो अनि ज्ञानी छ। मान्छेहरु सात/आठ जुनीको कुरा गर्छन्, यदि साँच्चै अर्को जुनी लिन पाइन्छ भने हामी दाजु–बहिनीकै रूपमा जन्मिन पाउँ। जुन दिन तपाईँले हामीलाई छोडेर जानुभयो, भगवानप्रतिको विश्वास त टुटेर गयो। तर, कहीँकतै अझै भगवान छन् भने अर्को जुनी पक्कै भेट हुनेछ। बाँचुन्जेल कहिल्यै कसैलाई नराम्रो गर्नुभएन, सबैको प्रिय हुनुहुन्थ्यो, त्यसैले हजुरको स्वर्गमा बास भएको छ भन्ने विश्वास छ।
जीवनमा सबै कुरा पहिलेदेखि नै तय भएर आउने रहेछ, जसलाई हामीले कहीँकतै परिवर्तन गर्न सक्दैनौं। जति सक्छौं त्यो जिउने तरिका मात्रै हो रहेछ।


























