काठमाडौँ । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई थप १६ दिनसम्म रोक लगाउने निर्णय गरेपछि साउन ६ गतेभन्दा अगाडि नखुल्ने भएकाे छ। असार २१ गतेसम्म रोक लगाइएको आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई सोमबारको मन्त्रीपरिषद् बैठकले साउन ६ गते मध्यरातसम्मलाई रोक लगाउने निर्णय गरेको हाे।
सरकारले उडान राेक्न चैत ९ गते यता गरेको निर्णय यो आठौं हो। यसअघि पहिलोपटक ०७६ चैत ९ गतेदेखि सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडानलाई र आन्तरिक वायुसेवालाई चैत ११ देखि १८ गतेसम्म व्यावसायिक यात्रु उडानमा रोक लगाइएको थियो। त्यसपछि चैत १९ देखि बैशाख ३ सम्म, बैशाख ४ देखि १८ सम्म, बैशाख १९ देखि जेठ २ सम्म, जेठ ३ देखि १८ सम्म, १९ देखि जेठ ३२ र असार १ देखि २१ सम्म व्यावसायिक उडानमा रोक लगाइएको थियो। यी निर्णय मन्त्रीपरिषद् तथा सीसीएमसीले संयुक्त रुपमा गर्दै आएका छन्।
व्यावसायिक उडानमा रोक लगाइए पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्धार गर्न/गराउन चार्टर उडान अनुमति भने दिँदै आएको छ। मन्त्रालयको नागरिक उड्डयन महाशाखाले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न असार ३१ सम्म अनुमति जारी गरेको छ । यो तेस्रोपटक जारी भएको अनुमति हो। पहिलोपटक २९ जेठदेखि खुला गरिएको नेपाली नागरिक उद्धार चार्टर उडानको म्याद असार ११ सम्म थियो। त्यसपछि मन्त्रालयले दोस्रोपटक असार १६ गतेसम्मका लागि उडान तालिका र भाडादर निकालेको थियो। बुधबारदेखि लागू भएको तेस्रोपटकको चार्टर उडान तालिका ३१ असारसम्म कायम रहने छ।


























