काठमाडौं, असार १८ । सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवामा लगाएको प्रतिबन्ध थप गरेको छ। जसअनुसरा व्यावसायिक हवाई सेवाको उडान तथा अवतरणमा असार २१ गते गतेसम्म गरिएको रोकलाई थप गरेर साउन ६ गतेसम्म पुर्याइएको छ। मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायीक उडानमा लगाएको प्रतिबन्ध थप गरी २०७७ सालको साउन ६ गतेसम्म कायम रहने निर्णय गरेको हो।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार हाललाई अन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा लगाएको प्रतिबन्ध साउन ६ गतेसम्म रहने निर्णय भएको छ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ८ गते राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारले कोरोनाभाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोकथाम गर्न नेपाल प्रवेश गर्ने सबै अन्तर्राष्ट्रिय हवाई चैत ९ देखि १८ गतेसम्म सेवामा प्रतिबन्ध लगाउने बताएका थिए। त्यस पछि सरकारले उडानमा समय थप गर्दै व्यावसायिक उडानमा प्रतिबन्ध लगाउँदै आएको छ। सरकारको निर्देशन निर्णय कार्यान्वयन गर्दै हवाई सेवाको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत ९ गते आइतबार (राति ११ः५९) देखि १० दिनसम्मका लागि नेपाल प्रवेश गर्न सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो। आन्तरिक उडानमा भने सरकरले चैत ११ गतेदेखि १८ गतेसम्म रोक लगाएको थियो। नेपालको हवाई सेवामा ७ दशकको इतिहासमा व्यावसायिक उडानका सबै प्रकारको हवाई उडान प्रतिबन्ध लगाइएको पहिलो पटक हो। नेपालको भूभागमा २००६ सालमा एक इन्जिनको विमान बाराको सिमरामा ल्यान्ड गरेकोबाट नेपालको हवाई सेवाको इतिहास सुरु भएको इतिहास छ भने २००७ सालमा भारतबाट अर्को विमान आएको र २००८ बाट नेपालबाट नियमित सेवा सुरु भएकोे इतिहास छ।
नेपालले ४० देशसँग सीधा हवाई सेवा सम्झौता गरेको छ भने ३ वटा स्वदेशी हवाई सेवा कम्पनीसहित ३० अन्तर्राष्ट्रिय हवाई कम्पनीले नेपालमा उडान गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको थियो। यस्तै, आन्तरिकतर्फ २० निजी हवाई कम्पनीले नेपालमा उडानमा भरिरहेका छन्। जसमा रोटर–१० र फिक्सड विङ–१० हवाई सेवा कम्पनी छन्। सामान्य समयमा विमानस्थलबाट दैनिक ४ सयको हाराहारीमा उडान अवतरण हुँदै आएका थिए।


























