असार १८ । प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले हार ब्यहोरेको छ।
बुधबार राति चेल्सीले वेस्ट ह्यामसंग ३–२ को हार ब्यहोरेको हो।
ब्राजिली स्टार विलियनमले दुई गोल गरेपनि लण्डन क्लबको हार टार्न सकेनन्। उनैले ४२ औं मिनेटमा पेनाल्टीमा चेल्सीलाई अग्रता दिलाएका थिए।
पहिलो हाफको ईन्जुरी समयमा टोमस सौसेकले घरेलु टोलीका लागि बराबरी गोल फर्काए।
माईकेल एन्टोनियोले ५१ औं मिनेटमा वेस्ट ह्यामलाई २–१ को अग्रता दिलाउने काम गरे। पुन विलियनले ब्यक्तिगत दोस्रो गोल गर्दैै खेल बराबरीमा ल्याएका थिए।
खेल सकिन एक मिनेट अघि एन्ड्री यरमालेन्कोले वेस्ट ह्यामका लागि विजयी गोल गरे। बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले काउन्टरमा गोल गर्दै चेल्सीलाई निराश बनाए।
लण्डन क्लबबिरुद्ध जित निकाल्दै वेस्ट ह्यामले रेलिगेशनको दबाबबाट बाहिर निस्किएको संकेत गर्यो। चेल्सीको च्याम्पियन्स लिग छनोटको दौड थप प्रतिस्पर्धात्मक हुने देखियो।
चौथो स्थानमा ५४ अंक जोडेर बसेको चेल्सीलाई म्यान्चेष्टर युनाईटेड र उल्भ्सले ५२ अंक सहित पछ्याईरहेका छन्। वेस्त ह्याम भने ३० अंक सहित तालिकाको १६ औं स्थानमा छ।
यस्तै, शीर्ष चारको क्लब लेस्टर सिटीले एभर्टनसंग हार ब्यहोर्यो। एभर्टनको घरेलु मैदानमा लेस्टर २–१ ले पराजित बन्यो।
घरेलु टोलीका रिचर्डसन र जी सिगर्डसनले लगातार गोल गर्दै एभर्टनलाई २–० को अग्रता दिलाएका थिए। लेस्टरका इहनाचोले ५१ औं मिनेटमा एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन्। लेस्टर ५५ अंक सहित तालिकाको तेस्रो र एभर्टन ४४ अंक सहित ११ औं स्थानमा छ।
यस्तै, अर्को खेलमा वर्नेमाउथ घरेलु मैदानमा न्युक्यासल युनाईटेडसंग ४–१ ले पराजित बन्यो। न्युक्यासलका लागि ड्वाई गेल, सीन लान्गस्टाफ, मिगुएल अल्मिरान, भालेन्टिनो लजारोले गोल गरे। वर्नेमाउथका लागि दान गोसलिङ्गले एक गोल फर्काए।
पछिल्लो नतिजासंगै वर्नेमाउथमाथि रेलिगेशन जोनको सम्भावना थप चुनौतीपूर्ण बन्यो। न्युक्यासलले आफुलाई रेलिगेशन जोनबाट बाहिर राख्ने कोशिश गर्यो।
न्युक्यासल ४२ अंक सहित तालिकाको १३ औं स्थानमा छ। वर्नेमाउथ २७ अंक सहित तालिकाको पुछारदेखि दोस्रोमा छ। एजेन्सी


























